नेपालगन्ज मंसिर २० – तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ । मंसिर १७ गतेदेखि चार दिनसम्म चलेको प्रतियोगितामा माध्यमिक तथा आधारभूत दुवै तहमा कडा प्रतिस्पर्धा देखिएको थियो ।
प्याब्सन कोहलपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा माध्यमिक तह (कक्षा ९–१२) को रनिङ शिल्ड ग्रीनपिस सेकेन्डरी स्कुलले हात पारेको छ । विद्यालयले विभिन्न प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण पदक हासिल गरेको थियो । यस तहमा गोरखा युनाइटेड पब्लिक स्कूल पाँच स्वर्णसहित दोस्रो र डायनमिक सेकेन्डरी स्कूल दुई स्वर्णसहित तेस्रो स्थानमा रह्यो ।
एथलेटिक्सतर्फ पनि ग्रीनपिस स्कूलले नै शानदार प्रदर्शन गर्दै प्रथम स्थान सुरक्षित गर्यो, भने गोरखा युनाइटेड र डायनमिक सेकेन्डरी क्रमशः दोस्रो र तेस्रो भए ।
आधारभूत तह (कक्षा १–८) तर्फको रनिङ शिल्डमा भने गोरखा युनाइटेड पब्लिक स्कूलले अग्रता कायम गर्यो। विद्यालयले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित समग्र उपाधि जित्यो । यस तहमा निम्बल एकेडेमी दोस्रो र जीवन ज्योति माध्यमिक विद्यालय तेस्रो भएका थिए। एथलेटिक्समा भने निम्बल एकेडेमी शीर्ष स्थानमा रह्यो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा माध्यमिक तहबाट गोरखा युनाइटेडका समीर बस्नेत (छात्र) र कल्पना बुढा (छात्रा) छनोट भए । त्यस्तै, आधारभूत तहमा निम्बल एकेडेमीका कृष्णबहादुर बुढा तथा एभरेष्ट सैनिक स्कूलकी साधना थापा उत्कृष्ट खेलाडी घोषित भए ।
समापन समारोहमा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालनसहितका अतिथिहरूले विजेता विद्यालय तथा खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे। अनुशासित विद्यालयको रूपमा एभरेष्ट सैनिक स्कूललाई पनि सम्मान गरिएको थियो । माध्यमिक तहमा ८७४ तथा आधारभूत तहमा ९६० गरी समग्रमा १ हजार ८ सय ३८ जनाको सहभागिता रहेको आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिए ।


