Monday, December 8, 2025
spot_imgspot_img
Homeराष्ट्रियनरैनापुरमा नागरिक समाजद्वारा ज्ञापन–पत्र 

नरैनापुरमा नागरिक समाजद्वारा ज्ञापन–पत्र 

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णयविरुद्ध स्थानीय नागरिक समाज, जेन्सी युवाहरू तथा सरोकारवालाले आइतबार प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काळ सुधारको माग गरेका छन्।

ज्ञापनपत्रमा विकास निर्माण, प्रशासनिक सेवा तथा सामाजिक क्षेत्रमा देखिएको अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैरकानुनी चलखेल, बजेट दुरुपयोग र कर्मचारीबीचको निरन्तर विवादका कारण सेवा–प्रवाह नै प्रभावित भएको उल्लेख छ। साथै, गाडी भाडा, इन्धन कुपन, मर्मत, खाजा–नास्ता र जिन्सी सामग्री वितरणजस्ता शीर्षकमा मनपरी खर्च भएको आरोपसमेत लगाइएको छ।

स्थायी कर्मचारीलाई जिम्मेवारीविहीन बनाउँदै अनावश्यक करार नियुक्ति गर्ने, आफन्तलाई प्राथमिकता दिने तथा कार्यालय समयमै जनसेवा उपेक्षा गर्ने प्रवृत्तिबाट जनआक्रोश चर्किएको जेन्सी युवाहरूको आरोप छ।

नागरिक समाजका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता र जवाफदेहिताको सिद्धान्त कमजोर बन्दै गएको उल्लेख गर्दै नरैनापुरको हालको प्रशासनिक व्यवस्थाप्रति गम्भीर आपत्ति जनाए। विद्यालय व्यवस्थापन समिति गठन नहुनु, विषयगत शिक्षक अभाव, शिक्षकहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक गतिविधि गर्ने, विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने र अनुगमन कमजोर हुँदा अभिभावक झन् आक्रोशित बन्दै गएको उनीहरूको भनाइ छ।

ज्ञापन–पत्र बुझाउँदै नागरिक अगुवा गुफरान अली शाहले भने, “हामी कसैप्रति द्वेष राखेर होइन, नरैनापुरमा सुशासन र पारदर्शिता कायम गर्न दबाब दिँदैछौँ। वर्तमान अभ्यासले जनविश्वासमा चोट पुर्‍याएको छ।”

ज्ञापनपत्रमा आन्दोलन रोक्न आसेपासे परिचालन गर्ने, विभाजन सिर्जना गर्ने वा भौतिक क्षति पुर्याउने प्रयास भए त्यसका सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।

उपस्थित समूहले माग तत्काल सम्बोधन नभए मंसिर २४ र २५ गते कालोपट्टीसहित २ घण्टे शान्तिपूर्ण धर्ना गर्ने तथा सोही म्यादभित्र प्रतिक्रिया नआए मंसिर २६ गतेदेखि गाउँपालिका र वडा कार्यालय ‘कब्जा’ गर्ने घोषणा गरेको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जेन्सी पुस्ताले उठाएका मागहरू नागरिक–मैत्री रहेको उल्लेख गर्दै केही मुद्दाहरू पहिले नै समाधान भइसके पनि जानकारी नपुगेको हुनसक्ने बताए। उनले आफ्नो स्तरबाट कार्यान्वयन हुनसक्ने माग तुरुन्त अघि बढाइने र बाँकी विषय कार्यपालिकाको बैठकबाट छिट्टै निर्णय हुने प्रतिवद्धता जनाए। आन्दोलन भए पनि सेवा–प्रवाह नअड्काइदिन आग्रह गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण केसी, नमूना गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्र, प्रेम मौर्यलगायतको उपस्थिति रहेको थियो।

जेन्सी युवाहरूका अनुसार, मागपत्र प्रधानमन्त्री, गृहमन्त्री, सामान्य प्रशासन मन्त्री, शिक्षा मन्त्री तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसम्म पनि बोदार्थ पठाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments