कोहलपुर — कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन, बाँके (क्रिसा) को आयोजना, १६औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०८२ आज (शुक्रबार) विहान १० बजे कोहलपुर नगरपालिका साँझाचोकबाट सुरु भएको छ। प्रभातफेरी न्यूरोड हुँदै खुला मैदानसम्म पुगेको थियो।
प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य ले गरेका थिए भने क्रिसा बाँकेका अध्यक्ष वेगम चन्द को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगितामा कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका २३ विद्यालय सहभागी छन्।
कार्यक्रममा क्रिसा बाँकेका संस्थापक स्वर्गीय टिकाराम सुवेदी र नेत्र बहादुर चन्द लाई प्रमुख अतिथिहरूले माल्यार्पण गरी सम्मान गरेका थिए। सहभागी विद्यालयहरूले मार्च पास पनि प्रस्तुत गरेका थिए। मार्च पासमा प्रथम स्थान जनज्योति पब्लिक हाइस्कुल, कोहलपुर–२, द्वितीय स्थान वेष्र्टन ई.मि.स्कुल, कोहलपुर–५, र तृतीय स्थान ग्रिन पिस स्कुल, कोहलपुर–१२ ले प्राप्त गरे।
नगर प्रमुख आचार्यले संस्थागत विद्यालयहरूको साझा संगठन क्रिसाले स्थानीय तहसँग नीति तथा कार्यक्रममा सहकार्य गर्दै काम गरेकोमा प्रशंसा गर्दै भने, “रनिङ्ग शिल्ड मात्र खेलकुदको कार्यक्रम होइन, बालबालिकाको सर्वाङ्गीन विकासका लागि महत्वपूर्ण अवसर हो।” उनले भने कि नगरपालिकाले प्रतियोगितालाई सफल बनाउन आवश्यक सम्पूर्ण आर्थिक, भौतिक र नैतिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएकोमा जोड दिए। उनले आगामी मंसिर २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिँदै सबै संस्थापक, शिक्षक, प्रशिक्षक, कर्मचारी, विद्यार्थी र सुरक्षा निकायका प्रतिनिधिहरूलाई योगदानको लागि धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारी, वडा नं. ८ का अध्यक्ष लाल बहादुर राना, वडा नं. १ का केन्द्रिय सदस्य श्याम बहादुर कुंवर, लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेत लगायत राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरू पनि सहभागी थिए।
प्रतियोगिताको पहिलो दिन मावि र आवि वर्गको १०० मिटर दौड सम्पन्न भएको थियो। प्रतियोगिता आगामी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ।


