बर्दिया मङ्सिर २२- बर्दियाको गुलरिया नगरपालिकाभित्रका पाँच माध्यमिक विद्यालय ‘तीन तारा’ स्तरमा उक्लिने अन्तिम तयारीमा छन्। यिनमध्ये नेपाल राष्ट्रिय शम्भु शरण माध्यमिक विद्यालय, खैरापुर पहिले नै तीन तारा घोषणा भइसकेको छ, भने बाँकी चार विद्यालय घोषणा मितिको प्रतिक्षामा छन्।
गुलरिया नगरपालिकाका अनुसार ध्रुव माध्यमिक विद्यालय, तुल्सीपुर मङ्सिर २७ गते, गौरीशङ्कर माध्यमिक विद्यालय, डल्लापुर पुस १ गते, बंगलामुखी राधाकृष्ण थारू पुस ४ गते तीन तारा घोषणा गरिने भएको छ। यद्यपि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भैंसाही का लागि भने घोषणा मिति तोकिएको छैन।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ लाई आधार मानेर सरकारले विद्यालयको वातावरण सुधार गर्दै गुणस्तरीय शिक्षाका लागि ‘तारा प्रणाली’ लागू गरेको हो। गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमका अनुसार नगरपालिकाले आफ्नै कार्यविधि तयार गरी विद्यालयको खानेपानी तथा सरसफाइका सूचकहरू स्पष्ट रूपमा निर्धारण गरेको छ ।
अनुगमन तथा मापनपछि तेस्रो तारा पाउन ३० अंक पुगेका विद्यालयलाई नगरपालिकाको सामाजिक विकास समितिले तीन तारे विद्यालय घोषणा गर्ने निर्णय गरेको हो। तीन तारा स्तरमा पुगेका विद्यालयमा विद्यार्थी सङ्ख्याअनुपातमा सुरक्षित खानेपानी, पहुँचयुक्त शौचालय, साबुन–पानीसहित हातधुने सुविधा, फोहोरमैला व्यवस्थापन, फूलबारी/बगैँचा र दिवा खाजा जस्ता सुविधा अनिवार्य रूपमा उपलब्ध गराइन्छ ।
यसबाहेक विद्यालयमा सरसफाइमैत्री व्यवहार परिवर्तन कार्यक्रम, खानेपानी तथा सरसफाइ मर्मत–सम्हाल कोष र व्यवस्थापन संयन्त्रको पनि व्यवस्था आवश्यक पर्छ ।
बर्दियामा बेस बर्दियाले नेपाल सरकारको कार्यविधि अनुसार गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकासहित पाँच स्थानीय तहमा यो प्रणाली लागू गरेको छ। लागू गरिएका ३३ विद्यालयमध्ये ११ विद्यालय पहिले नै तीन तारा घोषित भइसकेका छन् भने थप पाँच विद्यालय घोषणा प्रक्रियामा रहेको बेस बर्दियाका परियोजना संयोजक जद्दिश प्रसाद चौधरीले जानकारी दिनुभयो ।
नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक, र वाटर एड नेपालको आर्थिक सहयोगमा सञ्चालित वास–गेन्स परियोजना मार्फत जिल्लाभरका विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका कार्यक्रम तीव्र रूपमा अघि बढाइएका छन् ।


