Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजनरैनापुर गाउँपालिकामा अराजकता रोक्न नागरिक समाजको दबाब, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन

नरैनापुर गाउँपालिकामा अराजकता रोक्न नागरिक समाजको दबाब, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन

नेपालगन्ज मङ्सिर २२- बाँकेको नरैनापुर गाउँपालिकामा देखिएको प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णयको विरुद्ध स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवाला समूहले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन् ।

ज्ञापनपत्रमा विकास, प्रशासनिक सेवा र सामाजिक क्षेत्रका कार्यक्रमहरूमा ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग लगायतका बेथितिले सेवा–प्रवाह बाधित भएकाले तत्काल सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।

नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामान वितरणजस्ता शीर्षकमा अपारदर्शी खर्च वृद्धि भएको भन्दै मनपरी गतिविधि रोक्न माग गरिएको हो ।

उनीहरूले स्थायी कर्मचारीलाई जिम्मेवारीविहीन राखेर अनावश्यक करार नियुक्ति गर्ने, आफन्तवाद बढ्ने र कार्यालय समयमै जनसेवा उपेक्षा गर्ने प्रवृत्तिबाट स्थानीयमा आक्रोश चुलिएको बताए ।

शिक्षा क्षेत्रमा पनि गम्भीर समस्या रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति नबन्नु, शिक्षक अभाव, शिक्षकको सामाजिक सञ्जालमार्फत राजनीतिक सक्रियता, विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने गतिविधि तथा कमजोर अनुगमनका कारण गुणस्तर खस्किएको जनाइएको छ ।

माग सम्बोधन नभए मङ्सिर २४ र २५ गते कालोपट्टीसहित शान्तिपूर्ण धर्ना, र त्यसपछि पनि प्रतिक्रिया नआए मङ्सिर २६ गतेबाट गाउँपालिका तथा वडा कार्यालय ‘कब्जा’ गर्ने चेतावनीसमेत दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत वलीले जेनजी पुस्ताले उठाएका मुद्दा नागरिक–मैत्री रहेको बताउँदै केही विषय समाधान भइसके पनि जानकारी नपुर्याएका कारण भ्रम परेको हुनसक्ने बताए। उहाँले आफ्नो स्तरबाट तुरुन्त समाधान हुने मुद्दाहरू लागू गर्ने तथा बाँकी विषय कार्यपालिकाको बैठकबाट छिट्टै टुंगो लाग्ने प्रतिवद्धता जनाए ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण केसी, गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्र, प्रेम मौर्यलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments