कुशल दलामी बाँके।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका पदाधिकारी तथा आवद्ध पर्यटन व्यवसायीहरूले आफ्नै नयाँ सफारी जिपमार्फत सोमबार पहिलोपटक बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सम्पन्न गरेका छन्। बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सफारीलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
पर्यटन गतिविधिको प्रसार–प्रसार, प्रवर्द्धन तथा पैरवी गर्दै आइरहेका नाट्टा बाँके च्याप्टरमा आवद्ध सदस्यहरूले सामूहिक लगानीमा जंगल सफारी गाडी सञ्चालन सुरु गरेका हुन्। २०८२ मंसिर २२ गते सोमबार बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजा–आराधना पश्चात् संस्थाका संस्थापक अध्यक्ष श्री श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा रिबन काटेर जंगल सफारी सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो।
समुद्घाटनसँगै नाट्टामा आवद्ध संयुक्त पर्यटन व्यवसायीहरूद्वारा बाँके राष्ट्रिय निकुञ्जमा अध्ययनात्मक जंगल सफारी कार्यक्रम समेत सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा १५ जना पर्यटन व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सफारीका क्रममा सहभागीहरूले बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका विभिन्न प्रजातिका जंगली जनावर तथा चराचुरुङ्गीको अवलोकन गरेका थिए। जंगल सफारीको दौरान बाघ, रतुवा, चितल, जरायो, हाइना, घोरल, बँदेल लगायतका जनावर प्रत्यक्ष देखिएको नाट्टा बाँके च्याप्टरका उपाध्यक्ष झबी राज शर्माले जानकारी दिनुभयो।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जमा हात्ती, बाघ, हाइना, जरायो, रतुवा, घोरल, बँदेल जस्ता दुर्लभ वन्यजन्तु सहज रूपमा अवलोकन गर्न सकिन्छ। यसले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको छ।”
“घुमौं बाँके राष्ट्रिय निकुञ्ज” नारासहित पर्यटन वर्षको तयारी नेपाली तथा भारतीय पर्यटकलाई मुख्य लक्ष्य गर्दै नाट्टा बाँके च्याप्टरमा आवद्ध पर्यटन व्यवसायीहरूले “घुमौं बाँके राष्ट्रिय निकुञ्ज” भन्ने मूल नाराका साथ पर्यटन वर्ष सञ्चालनको तयारी समेत सुरु गरेका छन्। यसअन्तर्गत प्रचार–प्रसार, प्याकेज टुर, होटल तथा यातायात सेवा व्यवस्थित गर्ने योजना अघि सारिएको नाट्टाले जनाएको छ।
हाल नेपालगञ्ज राँझा विमानस्थल तथा कोहलपुरबाट बाँके राष्ट्रिय निकुञ्जसम्म नियमित जिप सफारी सेवा सुरु गरिएको छ। यसले नेपालगञ्ज आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई बाँके राष्ट्रिय निकुञ्जसम्म सहज पहुँच उपलब्ध गराएको छ।
नयाँ पर्यटन गन्तव्यका रूपमा बाँके राष्ट्रिय निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणका कारण बाँके राष्ट्रिय निकुञ्ज नयाँ आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। बाँके जिल्लाका पर्यटन व्यवसायीहरूले यस क्षेत्रलाई देशकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउने लक्ष्यसहित सेवा विस्तार, पूर्वाधार विकास र प्रवर्द्धन कार्यलाई तीव्रता दिएका छन्। यसबाट स्थानीय अर्थतन्त्र, रोजगार र पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।



