काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनर्जीवित गर्दै यसलाई अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेको बताउनुभएको छ ।
सार्कको ४१औँ चार्टर दिवसका अवसरमा सदस्य राष्ट्रका सरकार तथा नागरिकहरूलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले साझा उद्देश्यका आधारमा एकताबद्ध भई क्षेत्रीय चुनौतीको सामना गर्न सकिने बताउनुभयो । उहाँका अनुसार यसले नागरिकहरूको आकांक्षा पूरा गर्न तथा सबैको हितको रक्षा गर्न सहयोग पुर्याउनेछ ।
प्रधानमन्त्री कार्कीले झन्डै चार दशकअघि संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिद्वारा एकीकृत दक्षिण एशियाको कल्पना गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने तथा क्षेत्रभरि जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहललाई अघि बढाउँदै महत्वपूर्ण क्षेत्रीय मञ्चका रूपमा स्थापित हुन सफल भएको छ ।
खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने र साझा क्षेत्रीय पहिचानलाई सुदृढ गर्ने दिशामा सार्क चार्टर निरन्तर मार्गदर्शक रहेको प्रधानमन्त्री कार्कीले बताउनुभएको छ ।


