Wednesday, December 10, 2025
spot_imgspot_img
Homeस्थानीयमानव अधिकार रक्षक नै असुरक्षित बन्दै गएकोमा सरोकारवाला पक्षहरू चिन्तित

मानव अधिकार रक्षक नै असुरक्षित बन्दै गएकोमा सरोकारवाला पक्षहरू चिन्तित

नेपालगन्ज मंसिर २३ – मानव अधिकारका पीडितको पक्षमा आवाज उठाउने, अवस्थाको अनुगमन गर्ने, असल शासन र सार्वजनिक नीतिमा सहयोग पुर्‍याउने मानव अधिकार रक्षक स्वयं नै पछिल्लो समय असुरक्षित बन्दै गएको सरोकारवाला पक्षहरूले बताएका छन्।

मानव अधिकार रक्षक दिवसका अवसरमा नेपालगन्जमा मंगलबार आयोजित ‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार : बदलिँदो परिस्थितिमा मानव अधिकार रक्षकका चुनौती, अधिकार र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मानव अधिकार रक्षकहरूलाई लक्ष्यित घटनामा वृद्धि भएको बताएका हुन्।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले पछिल्लो समय मानव अधिकार रक्षकमाथि गैरराज्य पक्षबाट आक्रमण र दवाव बढ्दै गएको बताए। इन्सेकका तथ्यांकअनुसार सन् २०२५ मा मात्रै १०१ जना मानव अधिकार रक्षक पीडित भएका छन्, जसमा सबैभन्दा धेरै ४७ जना पत्रकार रहेका छन्। उहाँले रक्षकहरूको संरक्षणका लागि सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालकी केन्द्रीय सचिव चन्द्रकला उप्रेतीले १६ दिने अभियानका कार्यक्रम मात्र नभई वर्षभरि निरन्तर सचेतनात्मक गतिविधि आवश्यक रहेको बताइन्।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव अधिकार रक्षकहरूले दिवस मनाउँदै आत्ममूल्यांकनसहित अगाडि बढ्नुपर्ने बताए। उनले समस्याको समाधानका लागि सबै पक्ष कानुनअनुसार जिम्मेवार भएर अघि सर्नुपर्ने उल्लेख गरे।

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकार, शिक्षक, वकिल, मानव अधिकारकर्मी सबै नै रक्षक भएकाले अगाडिको पंक्तिमा काम गर्ने मानिसहरू बढी असुरक्षित हुने प्रवृत्ति रहेको बताए। उहाँले डिजिटल प्लेटफर्ममार्फत धम्की र दुव्र्यवहार बढ्दै गएको भन्दै कानून कार्यान्वयनमा कडाइ आवश्यक रहेको बताए।

एड्भोकेसी फोरम लुम्बिनीका संयोजक वसन्त गौतमले सत्य सूचना संकलनदेखि वकालतसम्मका कार्य गर्दै आएका मानव अधिकार रक्षकहरू असुरक्षित हुनु चिन्ताजनक रहेको भन्दै यस प्रवृत्ति न्यूनीकरण गर्न राज्य तथा सरोकारवालाहरू गम्भीर हुनुपर्ने बताए।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले राज्यले नागरिकको अधिकार सुनिश्चित गर्ने दायित्व पुरा गर्न प्रहरी संस्थान सदैव सहकार्य गर्न तयार रहेको बताए। उनले सबै नागरिकका अधिकार सुरक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याए।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले सार्वजनिक निकाय, कानून लागू गर्ने निकाय र मानव अधिकार रक्षकबीच समन्वय बलियो हुन आवश्यक रहेको बताए।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले अरूका अधिकारका लागि आवाज उठाउने रक्षक नै असुरक्षित हुँदा समाज सुरक्षित हुन नसक्ने बताउँदै राज्य तथा गैरराज्य पक्ष दुवैलाई यस विषयमा गम्भीर बन्न आग्रह गरे।

कार्यक्रममा यौनिक तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधि, दलित महिला सङ्घका सदस्य, नागरिक समाजका अगुवा लगायतका वक्ताहरूले पनि मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने धारणा राखे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments