काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्र नभई विपन्न, अशक्त तथा अवसरबाट वञ्चित नागरिकहरूको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हुने स्पष्ट धारणा राखिन्।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रदेखि शिक्षासम्मका आधारभूत सेवामा पनि भ्रष्टाचारका कारण नागरिक वञ्चित हुने अवस्था देखिएको उल्लेख गरिन्। उनका अनुसार भ्रष्टाचारका कारण बिरामीले समयमा उपचार नपाउने, विद्यार्थीले गुणस्तरीय शिक्षा नपाउनेजस्ता समस्याले मानव अधिकारको मूल मूल्यलाई नै क्षति पुर्याइरहेको छ।
सरकार भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्म कठोर कदम चाल्न तयार रहेको बताउँदै उनले यसका विरुद्ध नीतिगत र संस्थागत दुवै स्तरमा कडाइका उपाय अघि बढाइने प्रतिबद्धता जनाइन्।
यस्तै, लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएकाले फागुन २१ गते हुने निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार सक्रिय रहेको उनले बताइन्। निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आह्वानसमेत गरिन्।


