काठमाडौँ – अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको ‘स्लिपर्स टु स्याट’ स्याटेलाइट आज बिहान चीनबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। नेपाली समयअनुसार बिहान पौने १० बजे प्रक्षेपण सम्पन्न भएको जानकारी अन्तरिक्ष प्रतिष्ठान नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो। स्याटेलाइटबाट पहिलो डाटा प्राप्त हुन केही समय लाग्नेछ।
आइतबार चिनियाँ रकेट ‘काइनेटिका–वन’ मा इन्टिग्रेट गरिएको यो साना आकारको स्याटेलाइटको तौल एक किलो २० ग्राम छ। यसमा जडान गरिएका दुई क्यामेराले नेपालका वनस्पति तथा पानीसम्बन्धी विवरण संकलन गर्नेछन्।
स्याटेलाइटमा भूकम्पपूर्व चेतावनी प्रणाली अध्ययन गर्न सहयोग गर्ने प्रविधि समेत समावेश गरिएको छ। पृथ्वी वरिपरिको कक्षमा रहँदा यसलाई भू–नियन्त्रणमार्फत रोक्ने वा दिशा परिवर्तन गर्ने क्षमता पनि रहेको इन्जिनियरहरूले बताएका छन्। यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहमा प्रयोग गरिएका प्रविधिलाई अझ उन्नत बनाइ प्रयोग गरिएको छ, जसले क्यूबस्याट भित्र अन्य उद्देश्यका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ।
यो मिसनले प्राकृतिक प्रकोप व्यवस्थापनमा आवश्यक डाटा प्रसारणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको सहयोगमा सम्पन्न परियोजनामा चितवनका चेपाङ समुदायका कक्षा ७ र ८ का नौ जना विद्यार्थी तथा अन्तरिक्ष प्रतिष्ठान नेपालका ६ जना इन्जिनियर सहभागी थिए ।


