दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक भएको बताउनुभएको छ। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको साझा जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो।
उहाँको शुभकामना सन्देशमा भनिएको छ, “भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले सामाजिक मूल्य मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ। समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ।” सन्देशमा प्रदेश सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गरिरहेको जानकारी पनि दिइएको छ।
मुख्यमन्त्री आचार्यले नेपाल सन् २०११ देखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र बनेको उल्लेख गर्दै, त्यसयता सरकारले राष्ट्रिय रणनीति र कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार भ्रष्टाचारले सामाजिक मूल्य, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासमा गम्भीर असर पुर्याउने समस्या भएकोले यसलाई सम्बोधन गर्न कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न आवश्यक छ।
प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पाँच वर्षे रणनीतिक योजना कार्यान्वयन गर्दै आएको छ। यसअन्तर्गत पूर्व विशिष्ट पदाधिकारीका सेवा सुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालु खर्च घटाउने पहल र विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो।


