Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजकोहलपुर मेयर कपको तयारी पूरा 

कोहलपुर मेयर कपको तयारी पूरा 

नेपालगन्ज मंसिर २४ — कोहलपुर नगरपालिका १ स्थित कृष्ण मावि खेलमैदान कौशिल्यानगरमा आगामी मंसिर २५ देखि २९ गतेसम्म सञ्चालन हुने कोहलपुर मेयर कप खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगितासम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।
यस वर्ष प्रतियोगितामा आधारभूत तथा माध्यमिक तह गरी कुल १ हजार ८ सय ५८ खेलाडी सहभागी हुने जनाइएको छ । आधारभूत तह (आ.वि.) मा २ सय ९७ छात्रा र ४ सय ३४ छात्र गरी ७ सय ३१ खेलाडी सहभागी हुनेछन् भने माध्यमिक तह (मावि) मा ४ सय ९१ छात्रा र ६ सय ३६ छात्र गरी १ हजार १ सय २७ खेलाडी मैदानमा उत्रने भएका छन् । विद्यालय सहभागितामा माध्यमिक तह तर्फ ४४ मध्ये ४३ विद्यालय, र आधारभूत तह तर्फ १९ मध्ये १० विद्यालय सहभागी हुने जानकारी दिइएको छ ।
उक्त सम्मेलनमा नगर खेलकुद समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले प्रतियोगितालाई सफल बनाउने उद्देश्यका बारेमा जानकारी दिएका थिए । “कोहलपुरलाई विद्यालय खेलकुदको केन्द्र बनाउने हाम्रो लक्ष्य हो, मेयर कपले नयाँ प्रतिभा पहिचान गर्ने मात्र होइन, विद्यार्थीहरूलाई अनुशासन र प्रतिस्पर्धाको महत्व सिकाउने मञ्चको रुपमा काम गर्ने बताए ।
त्यसैगरी, कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकले खेलकुदलाई विद्यार्थी विकासको महत्वपूर्ण अंगको रूपमा रहेको भन्दै “विद्यार्थीको सर्वांगीण विकासमा खेलकुदको भूमिका अपरिहार्य छ । नगरपालिकाले खेलमैदान, प्राविधिक, सुरक्षा र व्यवस्थापनका सबै पक्षमा आवश्यक सहयोग गरेको जानकारी दिए । प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न हुनेछ गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, मार्सल आट्र्स, कबड्डी, हाइजम्प, लङजम्प, ट्रिपल जम्प र जबलिन थ्रो लगायतका खेल विधा समावेश छन् । एथलेटिक्समा १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड तथा १०० मिटर र ४०० मिटर रिले दौड पनि हुने आयोजकले जानकारी दिएको छ ।
आयोजक समितिले प्रतियोगिता व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ । यस वर्षको मेयर कपले विद्यार्थीहरूको खेलकुद क्षमता पहिचान मात्र गर्ने नभई उनीहरूलाई अनुशासन, समर्पण र सहकार्यको पाठ सिकाउने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments