Saturday, December 13, 2025
spot_imgspot_img
Homeस्थानीयभेरी अस्पतालको ओसीएमसीमा हिंसापीडितको सेवा खोज्ने संख्या वर्षेनि वृद्धि

भेरी अस्पतालको ओसीएमसीमा हिंसापीडितको सेवा खोज्ने संख्या वर्षेनि वृद्धि

नेपालगन्ज मङ्सिर २५ -नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालनमा रहेको लैङ्गिक हिंसा पीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मार्फत निःशुल्क सेवा लिने हिंसापीडितको संख्या निरन्तर रूपमा बढ्दै गएको छ। पछिल्ला तीन वर्षमा मात्र एक हजार ११३ जना पीडितले सो केन्द्रबाट निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

अस्पतालका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ३५२, २०८०/८१ मा ३६२ तथा २०८१/८२ मा ३९९ जना पीडितले सेवा लिएका छन्। गत आर्थिक वर्षका ३९९ मध्ये १२ जना पुरुष र ३८७ जना महिला थिए। उमेर समूहअनुसार सबैभन्दा धेरै १९ देखि ४९ वर्षका २३६ जना पीडितले सेवा लिएको केन्द्रका इन्चार्ज फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले जानकारी दिए।

गत वर्ष ओसीएमसीमा आएका पीडितमध्ये २३३ जनाले शारीरिक हिंसा, ९२ जनाले मानसिक हिंसा, ९० जनाले बलात्कार, ९० जनाले बहुविवाह, ४२ जनाले बालविवाह तथा २५ जनाले लैङ्गिक हिंसाको सामना गरेको तथ्याङ्कले देखाएको छ।

चालु आर्थिक वर्षको कात्तिकअन्त्यसम्म चार महिनामा मात्र ९० जना नयाँ पीडित सेवा लिन आएका छन्। तीमध्ये शारीरिक हिंसाका ४८, करणीका ३१, मानसिक हिंसाका २०, लैङ्गिक हिंसाका २ तथा जबरजस्ती बालविवाहका १ जना छन्।

भेरी अस्पतालमा उपचारका लागि आउनेमा नेपालगन्ज उपमहानगरपालिकाका पीडितको संख्या सबैभन्दा धेरै छ भने कोहलपुर, खजुरा, बैजनाथ, राप्तीसोनारी, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकाका पीडित क्रमशः रहेका छन्। बाँकेका साथै बर्दिया, जुम्ला, दाङ र अछामका करीब १३ प्रतिशत पीडितले समेत सेवा लिएको डा. शाक्यले बताए।

पीडितमध्ये सबैभन्दा बढी मधेसी, त्यसपछि जनजाति, दलित, मुस्लिम र ब्राह्मण–क्षेत्री समुदायका छन्। २०७४ सालमा स्थापना भएको ओसीएमसीमा अहिले चारवटा कक्ष मार्फत सेवा प्रदान गरिँदै आएको छ।

केन्द्रले स्वास्थ्य उपचार, चिकित्सकीय प्रमाण सङ्कलन तथा परीक्षण, मनोसामाजिक परामर्शका साथै सुरक्षा, आश्रय, कानुनी सहयोग, जीविकोपार्जन र पुनःस्थापनाका विषयमा सरोकार निकायसँग समन्वय गरी पीडितको सहयोग गरिरहेको डा. शाक्यले बताए। उनका अनुसार पीडितको पहिचान, कानुनी जटिलता, उजुरी गर्न नचाहने मनोविज्ञान, जनशक्ति र बजेट कमी प्रमुख चुनौती बनेका छन्।

२४ घण्टा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको ओसीएमसीले लैङ्गिक हिंसा न्यूनीकरण र पीडितको संरक्षणमा महत्वपूर्ण योगदान गरिरहेको केन्द्रले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments