बाँके : बैजनाथ गाउँपालिका–१ चिसापानीमा जारी प्रथम बैजनाथ कृषि तथा व्यापार पर्यटन प्रबर्द्धन महोत्सव–२०८२ को सातौँ दिन दर्शकको उल्लेख्य उपस्थिति रह्यो। चर्चित गायक टंक तिमल्सिना, गायिका भूमिका गिरी र बाल गायक रुपेश चन्द ठकुरीले दर्शकलाई धमाकेदार प्रस्तुति दिएपछि महोत्सवको माहोल झनै तातिएको हो।
गायक टंक तिमल्सिनाले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए। दिउँसो ४ बजे स्टेज चढेका कलाकारहरूले साँझ ७ बजेसम्म निरन्तर मनोरञ्जन प्रदान गरेका थिए। विशेष गरी ‘पुक्क पुलुक्का गाला’ जस्ता चर्चित गीतमा दर्शकको उत्साह चरममा पुगेको थियो।
यसअघि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म स्थानीय कलाकारहरू ABCD डान्स ग्रुप तथा राष्ट्रिय लोक तथा दोहोरी गीत नेपाल जिल्ला शाखा बाँकेका चन्द्र घायलको टिमले लाइभ दोहोरीमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए। साथै, क्रियटिभ स्कलर्श एकेडेमी चिसापानीका विद्यार्थीहरूले स्थानीय भेषभूषा झल्किने सांस्कृतिक प्रस्तुति देखाएका थिए।
महोत्सव संयोजक नरेश भामका अनुसार बिहीबार व्यापारिक स्टल, होटल तथा रेष्टुरेन्टहरूमा राम्रो कारोबार भएको थियो। स्टल व्यवस्थापन समिति संयोजक भूपाल शर्माको भनाइ उद्धृत गर्दै युवा स्वयंसेवक डिल्ली बुढाले व्यापार उत्साहजनक रहेको जानकारी दिए।
बिहीबार करिब ५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र शुक्रबार १० हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको आर्थिक समिति संयोजक टोपबहादुर मल्लले जानकारी दिनुभयो। शुक्रबार चर्चित गायिका शान्तिश्री परियार, लोकदोहोरी गायक एचक्यू सत्यालसहित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने युवा सहसंयोजक स्वयं शाहीले बताउनुभयो।
महोत्सवबाट संकलित आम्दानीबाट महोत्सव स्थलमा शिव मन्दिर निर्माण गर्नुका साथै चिल्ड्रेन पार्क व्यवस्थापन गर्ने योजना रहेको संयोजक भामले जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र पौराणिक नृत्यको संरक्षण महोत्सवको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।



