कोहलपुर, पौष १० – बिहिबारदेखि कोहलपुर नगरपालिका वडा नं. १ मा सुरुभएको चौथो वडा अध्यक्ष कपको पहिलो खेल आयोजक वडा नं. १ ले जितेको छ ।
एभरेष्ट युथ स्पोटर्स क्लवको आयोजनामा भएको पहिलो खेलमा वडा नं. १ ले वडा नं. ६ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वडा नं. १ का लागि दुबै गोल क्षितिज थापामगरले गरेका थिए ।

खेलको उद्घाटन कोहलपुर वडा नं. १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसी र आयोजक क्लवका अध्यक्ष सुमन पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरेर गरेका थिए ।
चौथो वडा अध्यक्ष कपको उद्घाटन गर्दै वडा अध्यक्ष बद्रिप्रसाद जैसीले वडाको युवा क्लवको तत्परतामा भएको प्रतियोगिताले युवाहरुलाई खेलकुदका माध्यमबाट एकतावद्ध गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व फुटबल खेलाडीसमेत रहेका कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्री प्रतियोगिता आयोजना गरेकोमा प्रसंशा गर्दै फुटबल खेल बिकासका लागि गरिने क्रियाकलापमा सहयोग गर्ने प्रतिवद्धतासमेत गरे ।
कोहलपुर नगरपालिका अन्र्तगतका १३ वटा वडाहरुको सहभागीता रहेको प्रतियोगिता अन्र्तगत शुक्रबार तीन वटा खेलहरु हुने आयोजक एभरेष्ट युथ स्पोर्टस क्लवका सचिव सरोज केसीले जानकारी दिएकाछन् । नकआवट प्रणालीबाट भइरहेको प्रतियोगितामा शुक्रबार वडा नं. ३ र २ विकाशनगर, वडा नं. ८ र १४ र वडा नं. १२ र १५ बिच प्रतिस्पर्धा हुनेसमेत सचिव केसीले जानकारी दिए ।
क्लबले प्रतियोगितासँगै कौशिलानगर गाउँमा स्वागतद्वार निर्माण गर्ने योजना पनि अघि बढाइएको जानकारी दिएको छ ।


