शिवानी विक नेपालगन्ज, पुस १२- “बेथितिबारे थितिको लडाइँ” भन्ने सशक्त सन्देशलाई आत्मसात गर्दै दिगो विकासको उत्सव भन्ने मूल नारासहित सञ्चालन भइरहेको कोहलपुर महोत्सव २०८२ आशा, उत्साह र सकारात्मक परिवर्तनको प्रतीक बन्दै सफलतापूर्वक अगाडि बढिरहेको छ । अव्यवस्था, आर्थिक मन्दी र विभिन्न चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि महोत्सवले समाजलाई एकताबद्ध गर्दै सांस्कृतिक, आर्थिक र सामाजिक चेतनाको बलियो सन्देश दिन सफल भएको छ ।
कोहलपुर–११, न्यूरोड चोकस्थित खुला मैदानमा आयोजना गरिएको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा दिनहुँ हजारौँ दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । महोत्सवले मनोरञ्जन मात्र नभई स्थानीय उत्पादनको प्रवर्द्धन, साना तथा मझौला व्यवसायको प्रोत्साहन र क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ । गाउँ–गाउँका उत्पादन, सिर्जनशीलता र सम्भावनालाई एउटै मञ्चमा ल्याएर महोत्सवले आत्मनिर्भर समाज निर्माणतर्फको बाटो देखाएको छ ।

महोत्सवको सांगीतिक कार्यक्रमले दर्शकहरूलाई उत्साह र उमङ्गले भरिदिएको छ । आज आयोजित सांगीतिक कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरूले मञ्च तताएका छन् । लोक गायिका शान्ति श्री परियारले आफ्ना लोकप्रिय तथा भावनात्मक गीतमार्फत दर्शकहरूलाई झुमाइन्, जहाँ भीड गीतसँगै स्वर मिलाउँदै रमाएको दृश्य देखिन्थ्यो । त्यस्तै, ‘स्टेज क्वीन’ का रूपमा चिनिने भूमिका गिरीको ऊर्जावान र आत्मविश्वासी प्रस्तुतिले महोत्सवको रौनक अझ बढाएको थियो ।
यसैगरी, गायक राज कुर्मी र कमल वि.सी.ले आफ्ना सुमधुर स्वरमा प्रस्तुत गरेका गीतहरूले दर्शकहरूको मन जितेका थिए । मोडेल सुनिता दहितको नृत्य तथा अभिनयले विशेषगरी युवा पुस्ताको ध्यान तानेको थियो, जसले महोत्सवलाई अझ बहुआयामिक बनाएको थियो ।
महोत्सवको सम्पूर्ण कार्यक्रम सञ्चालनको जिम्मेवारी सञ्चारकर्मी कोष खड्काले सम्हालिरहेका छन् । कार्यक्रमको मुख्य आयोजक कोहलपुर उद्योग वाणिज्य संघ रहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ (लुम्बिनी प्रदेश र काठमाडौँ) को सहकार्य तथा के.एल. दुगड ग्रुपको मुख्य प्रायोजनमा महोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सवका मुल आयोजक समिति संयोजक प्रदिप भट्टराईका अनुसार, कोहलपुर महोत्सव मनोरञ्जनको साधन नभई समाजमा व्याप्त अव्यवस्था, निराशा र बेथितिविरुद्ध थिति बसाल्ने अभियानको रूपमा अघि बढाइएको बताए । यही सोच र सन्देशलाई निरन्तरता दिँदै भोलि महोत्सवको मञ्चमा चर्चित अभिनेता पल शाह लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । भोलिको कार्यक्रमलाई लिएर दर्शकहरूमा थप उत्साह, प्रतीक्षा र चासो देखिएको छ ।
मनोरञ्जन, व्यापार, संस्कृति र चेतनाको संगम बनेको कोहलपुर महोत्सव २०८२ ले “बेथितिबारे थितिको लडाइँ” लाई व्यवहारमा उतार्दै समृद्ध र व्यवस्थित समाज निर्माणतर्फ सकारात्मक आशा जगाइरहेको छ ।


