बाँके :आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) बाँकेले समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ। देश निर्वाचनको प्रक्रियामा प्रवेश गरिरहेका बेला एमालेले समयमै उम्मेदवार छनोट अघि बढाउनु सकारात्मक राजनीतिक संकेतका रूपमा हेरिएको छ।
पार्टीको निर्णयअनुसार समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम तथा अन्य समुदायबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार सिफारिस गरिएको जनाइएको छ। पार्टी केन्द्रीय कार्यालयमा पेश गरिएको विवरणअनुसार एमाले बाँकेले राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट नाम सिफारिस गरेको हो।
राष्ट्रिय सभातर्फ खस–आर्य महिला समूहबाट शान्ति ढकाल, अपांगता भएका व्यक्तितर्फ गोपीन्द्र बुढा र पुरुष समूहबाट नरेन्द्र शर्मालाई सिफारिस गरिएको छ। प्रतिनिधि सभातर्फ खुला समूहबाट होमप्रकाश सुवेदी, बेदनिधि प्याकुरेल, सनत रेग्मी र भक्त बहादुर केसी अघि सारिएका छन्। मधेसी समूहबाट पशुपति दयाल मिश्र र जयराम यादव, जनजाति समूहबाट बलदेव पुन र लाल बहादुर थापा तथा मुस्लिम समूहबाट मो. हारुन हलवाइ सिफारिस भएका छन्।
त्यसैगरी महिला समूहबाट विजय धिताल, थारु समूहबाट रामदास थारु र दलित समूहबाट नन्द विश्वकर्मा सिफारिस गरिएको एमाले बाँके स्रोतले जनाएको छ। पार्टी अध्यक्ष निरक गुरुङले शुक्रबार उक्त सिफारिस केन्द्रमा पठाएका हुन्।
पार्टीका अनुसार उम्मेदवार सिफारिस गर्दा संगठनप्रतिको योगदान, राजनीतिक अनुभव, समावेशिता र क्षेत्रीय सन्तुलनलाई प्राथमिकता दिइएको छ। पार्टी केन्द्रीय सदस्य सूर्य ढकालले समानुपातिक उम्मेदवार सिफारिसले संगठनात्मक तयारी थप मजबुत बनाएको बताए। उनले दैनिक नेपालगन्जसँग भने, ‘प्रमुख राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने सहमतिमा पुगेको अवस्थामा एमालेको यो कदम लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउने जिम्मेवार पहल हो।’
यसैबीच प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसका लागि एमाले बाँकेले केन्द्रको निर्णय पर्खिरहेको पार्टी नेताहरूले बताएका छन्।


