नेपालगन्ज पुस १४- जीवनको सबैभन्दा संवेदनशील र निर्णायक समय मानिने किशोर अवस्था पार गरिरहेका बालबालिकाको मन र भविष्यलाई उज्यालो बनाउने उद्देश्यका साथ कोहलपुरमा एक दिने मोटिभेसनल कार्यक्रम भावनात्मक रूपमा सम्पन्न भएको छ ।
सञ्चारिका समूह नेपाल, बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमले किशोर–किशोरीहरूलाई आत्मविश्वास, आशा र सकारात्मक सोचको गहिरो सन्देश दिएको छ ।
कार्यक्रमका प्रमुख वक्ता तथा चर्चित उत्प्रेरक वक्ता कोष खड्काले जीवनका कठिन मोडहरूमा निराश नहुन, आफ्ना सपना चिन्न र लक्ष्यप्रति दृढ रहन सहभागीहरूलाई भावुक शैलीमा उत्प्रेरित गरेका थिए । उनका शब्दहरूले हलभरि उपस्थित किशोर–किशोरीको मन छोएको देखिन्थ्यो । धेरै सहभागी भावनात्मक बनेर मन्तव्य सुन्दै गरेका थिए ।

उनले भने, “परिस्थितिले होइन, सोचले मान्छेलाई पराजित गर्छ। आफूमा विश्वास गर्न सके जीवन आफैं बदलिन्छ” ।
खड्काले असफलतालाई डर मान्न नहुने धारणा राख्दै असफलता नै सिकाइको आधार भएको उल्लेख गरे । उनका अनुसार बारम्बार प्रयास गर्ने बानी, धैर्यता र आत्मअनुशासनले सफलताको बाटो खोल्ने गर्दछ । “सफल मानिस असफल हुँदैनन् भन्ने होइन, असफलताबाट हार नमान्ने मानिस नै सफल हुन्छ,” ।
त्यसैगरी लक्ष्य निर्धारण र सकारात्मक सोचको अभ्यासबारे पनि चर्चा गर्दै स्पष्ट लक्ष्यबिना गरिने मेहनत दिशाहीन हुने उल्लेख गर्दै खड्काले किशोर–किशोरीलाई आफ्ना सपना कागजमा उतार्न र त्यसलाई पूरा गर्ने योजनासहित अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा मोटिभेसनल स्पिकर तथा शिक्षक प्रमोद सुवेदीले किशोर अवस्थामा देखिने सोच, व्यवहार र निर्णय क्षमताले व्यक्तिको सम्पूर्ण जीवनमा प्रभाव पार्ने बताए । उनले शिक्षा पाठ्यपुस्तकमा सीमित नभई जीवन उपयोगी सीपसँग जोडिनुपर्नेमा जोड दिए ।
सुवेदीका अनुसार वर्तमान समयमा किशोर–किशोरीहरू विभिन्न मानसिक दबाब, प्रतिस्पर्धा र सामाजिक प्रभावको बीचमा हुर्किरहेका छन्, जसले उनीहरूलाई अन्योलमा पार्ने गरेको छ ।
उनले भने, “विद्यालयमा हासिल गर्ने शैक्षिक ज्ञानसँगै जीवनमा प्रयोग गर्न सकिने सीप, नैतिक मूल्य र आत्मअनुशासन सिकाउन आवश्यक छ । यी पक्षलाई बेवास्ता गरियो भने पढाइ मात्रले व्यक्तिलाई सक्षम नागरिक बनाउन सक्दैन” ।
सुवेदीले लक्ष्य निर्धारणको महत्व उल्लेख गर्दै किशोर–किशोरीले आफ्नो क्षमता र रुचिलाई पहिचान गरेर लक्ष्य तय गर्नुपर्ने धारणा राखे । स्पष्ट लक्ष्य बिना गरिएको प्रयास दिशाहीन हुने सम्भावना बढी हुन्छ । समय व्यवस्थापन, नियमित अभ्यास र सकारात्मक सोचले किशोर अवस्थामा देखिने तनाव र असफलताको डरलाई कम गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना शर्माले किशोर–किशोरीको व्यक्तित्व विकासमा यस्ता कार्यक्रम उपयोगी हुने बताइन् । उनले किशोर अवस्था भविष्य निर्माणको महत्वपूर्ण समय भएकाले यस समयमा सकारात्मक सोच र सही मार्गदर्शन आवश्यक रहेको उल्लेख गरेकी थिइन् । साथै उनले स्थानीय तहले किशोर–किशोरी लक्षित रचनात्मक तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
यस्तै उक्त अवसरमा बोल्दै सञ्चारिका समूह नेपाल, बाँकेकि अध्यक्ष पवित्रा परियारले किशोर–किशोरीको मानसिक सशक्तीकरण आजको आवश्यकता भएको जनाउँदै यस्ता कार्यक्रमले उनीहरूलाई सही दिशा रोज्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिइन् ।

कार्यक्रममा कोहलपुर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत किशोर–किशोरीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमले आफूहरूलाई सोच्ने तरिका बदल्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।


