बाँके, कोहलपुर – पार्टीलाई जित दिलाउँदै समग्र विकासको अभियान अघि बढाउने लक्ष्यसहित अबराज खड्काले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट आगामी निर्वाचनमा बलियो उम्मेदवारका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
कोहलपुर नगर विकास समितिमा रहँदा कुल १३ वटा बैठकलाई सर्वसम्मत रूपमा सफल बनाउँदै उनले समन्वय र नेतृत्व क्षमताको परिचय दिएका छन्। साथै, कोहलपुरमा राष्ट्र बैंक स्थापना गर्न सफल हुनु उनको उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।
दिगो विकासको दृष्टिकोणसहित कोहलपुरलाई पश्चिम नेपालको उत्कृष्ट शहर बनाउने, राप्तीसोनारी र नरैनापुर क्षेत्रलाई व्यवस्थित कृषि क्षेत्रमा रूपान्तरण गर्ने तथा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उनको प्रतिबद्धता छ।
कोहलपुर नगर कमिटी अध्यक्ष रहँदा पार्टीको प्रभाव विस्तार गर्दै विभिन्न संघ–संस्थामा पार्टीको प्रतिनिधित्व र वर्चस्व स्थापित गर्न उनी सफल भएका थिए। २०५४ सालदेखि निरन्तर राजनीतिमा सक्रिय खड्काले यसअघि निर्वाचनमा नजाँदा पनि पार्टी निर्माणलाई प्राथमिकता दिँदै आएका थिए।
विभिन्न अवसर हुँदाहुँदै पनि पार्टी संगठन सुदृढ बनाउने उद्देश्यले पछाडि हटेका खड्का यसपटक भने आफू बलियो उम्मेदवार भएको दाबी गर्दै पार्टी नेतृत्वले टिकट दिनुपर्ने स्पष्ट धारणा राखेका छन्। स्थानीय स्तरमा बढ्दो समर्थन र अनुभवका आधारमा खड्काको उम्मेदवारी बाँके–१ मा चर्चाको विषय बनेको छ।


