Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजचियाको बाफमा उम्लिएको सपना

चियाको बाफमा उम्लिएको सपना

शिवानी विक पुस १९- बिहानको कुहिरोले कोहलपुरको सडकलाई अझै अल्छी बनाइरहेको हुन्छ । पसलका सटरहरू आधा खुलेका छन्, गाडीको आवाज विस्तारै बढ्दैछ । त्यही समयमा, सडकछेउको एउटा कुनामा सानो मट्काबाट चियाको बाफ उड्छ । त्यो बाफ पानी र पत्तीको मिश्रण मात्र नभई, त्यो बाफसँगै उडिरहेका हुन्छन् संघर्ष, आत्मसम्मान र भविष्यका सपना ।

त्यही बाफभित्र लुकेको छ बाँके, बैजनाथ गाउँपालिका ३ का २१ वर्षिया रमेश थारूको जीवन ।
रमेश कुनै ठूला व्यापारका मालिक होइनन् । न त उनीसँग चम्किला पसल छन्, न त ठूलो लगानी । उनको पूँजी भनेको एउटा मट्का, केही कप, चिया पत्ती, दूध र आफ्नै पसिना हो । यही सानो पूँजीबाट उनले आफूलाई मात्र होइन, “नेपालमै केही गर्न सकिन्छ” भन्ने विश्वासलाई पनि बाँचाइरहेका छन् ।

विगत एक वर्षदेखि रमेश कोहलपुरका सडकहरूमा घुम्ती चिया पसल चलाउँदै आएका छन् । दिनमा करिब १ सय २० देखि २ सय कप चिया बिक्छ । एक कपको मूल्य ४० रुपैयाँ । हिसाब गर्दा यो ठूलो रकम जस्तो लाग्दैन । तर रमेशका लागि हरेक कप चिया आत्मनिर्भरताको एउटा खुड्किलो हो, आत्मसम्मानको एउटा प्रमाण हो ।

उनको दिन अरूको भन्दा फरक तरिकाबाट सुरु हुन्छ । धेरै विद्यार्थीहरू निद्रामा हुन्छन्, रमेश उठिसकेका हुन्छन् । शहर शान्त हुन्छ, रमेश मट्कामा पानी उमालिरहेका हुन्छन् । उम्लिरहेको पानीसँगै उनका सोचहरू पनि उम्लिन्छन्, कलेजको क्लास, घरको खर्च, आमाबुवाको अपेक्षा, र भोलिको अनिश्चित भविष्य ।

“चिया बेच्दा लाज लाग्छ भन्ने सोच मसँग कहिल्यै आएन,” रमेश शान्त स्वरमा भन्छन्,
“लाज त अरूको पैसामा बाँच्दा लाग्नुपर्छ” ।

उनको यो वाक्यमा कुनै क्रान्तिकारी भाषण छैन, छ त एउटा इमानदार आत्माको गहिरो आवाज ।

उद्योग वाणिज्य संघ कोहलपुरले आयोजना गरेको जारी महोत्सवमा पनि रमेशको मट्का देखिन्छ । रंगीन बत्ती, संगीत, चर्को हल्ला र भीडको बीचमा पनि उनको सानो चिया स्टलले आफ्नै पहिचान बनाइरहेको छ ।

यहाँ एक कप चियाको मूल्य ५० रुपैयाँ छ ।
कसैले भन्छ—“अलि महँगो भयो”, । तर चियाको पहिलो घुट्की पछि, धेरैको गुनासो हराउँछ ।

थाकेका मजदुरहरू, रमाइलो गर्न आएका युवा, परिवारसहित आएका दर्शक, सबैको थकान केही बेरका लागि हराउँछ । चियाको तातोपनले हात तताउँछ, रमेशको मुस्कानले मन ।

यहाँ उनी चिया बेचिरहेका मात्र हुदैनन्, मानिसहरूलाई केही मिनेटको विश्राम पनि बेचिरहेका छन् ।

रमेश चिया बेच्ने युवक मात्र होइनन् ।
उनी ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी पनि हुन् ।

कलेजको कक्षा, असाइनमेन्ट, परीक्षा—सबैसँगै चिया बेच्नु सजिलो भने छैन । कहिलेकाहीँ शरीर थाक्छ, अनि मन पनि । तर यो बाटो उनले बाध्यताले होइन, इच्छाले रोजेका हुन् ।

“धेरै साथीहरू विदेश जाने कुरा गर्छन्,” उनी भन्छन्,“म पनि चाहन्थेँ होला । तर म सोच्थेँ पहिले यहीँ केही गरेर त हेरूँ” । हरेक दिन दर्जनौं युवा रोजगारीको खोजीमा देश छोडिरहेका छन्, रमेशको कथा कुनै भाषण होइन, एउटा मौन प्रश्न बनेर उभिन्छ, के नेपालमै केही गर्न सकिँदैन र ?

रमेश आफूलाई ठूलो मान्छे भन्न रुचाउँदैनन् ।
उनी भन्छन्, “म भुइँमान्छे हुँ, र त्यसमा मलाई गर्व छ,” ।
भुइँमान्छे, जो माटोसँग जोडिएको हुन्छ, पसिनासँग चिनिन्छ, र संघर्षलाई साथी बनाउँछ ।
उनको कमाइले घरखर्च चल्छ । पढाइको शुल्क तिर्न सकिन्छ । तर सबैभन्दा ठूलो कुरा, उनले कसैसँग हात फैलाउनु पर्दैन । यही नै रमेशको सबैभन्दा ठूलो उपलब्धि हो ।
रमेश थारूको मट्का चिया पकाउने भाँडो मात्र नभइ, एउटा सन्देश हो । सपना पूरा गर्न ठूला साधन होइन, चाहिन्छ त केवल ठूलो साहस । आज यही घुम्ती मट्कासँगै उनी एउटा उदाहरण बनेका छन्- देशमै बसेर सानो कामबाट, ठूलो सपना देख्न सकिन्छ भन्ने उदाहरण ।
कोहलपुरको सडकमा अर्को पटक चियाको बाफ उड्छ, त्यो चियाको बाफ मात्र नभई रमेश थारूको संघर्षको सुगन्ध हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments