नेपालगन्ज पुस १९- नेपाली सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा परिचित गायक कमल निर्मोही (कमल विक) हाल गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत छन् । उनका दुवै मिर्गौला फेल भइसकेका छन् र उनी लामो समयदेखि नियमित औषधि सेवन तथा चिकित्सकीय निगरानीमा उपचाररत छन् । निरन्तर उपचारका कारण स्वास्थ्यसँगै आर्थिक अवस्था पनि कमजोर बन्दै गएको छ ।
सांगीतिक यात्रामा लामो समय योगदान दिएका निर्मोही पछिल्लो समय स्वास्थ्य समस्याका कारण मञ्च र सार्वजनिक कार्यक्रमबाट टाढा छन् । आय–आर्जनका स्रोत बन्द भएपछि उपचार खर्च, औषधि तथा परिवारको दैनिक जीवनयापनका लागि गम्भीर चुनौती थपिएको छ ।
यसैबीच, उद्योग वाणिज्य संघले गायक निर्मोहीलाई ३१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।
उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा गायक निर्मोहीको उपचार सहयोगका लागि विशेष स्टलको व्यवस्था समेत गरिदिएको छ गरिएको छ । संघका पदाधिकारीहरूका अनुसार कलाकारको पीडालाई सबैसामु पुर्याउने उद्देश्यले महोत्सव स्थलमै सहयोग संकलनका लागि स्टल राखिएको हो
उद्योग वाणिज्य संघको पहलमा आयोजित सहयोग कार्यक्रममा महोत्सवमा आएका दर्शक, व्यवसायी, कलाकार र सर्वसाधारणले आफ्नै क्षमताअनुसार सहयोग गरेका थिए । यसले निर्मोहीको उपचार प्रक्रियामा केही राहत पुगेको परिवारले जनाएको छ ।
आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै गायक कमल निर्मोही (कमल विक)ले भावुक हुँदै भने,
“म अहिले स्वास्थ्यसँग संघर्ष गरिरहेको छु, तर समाजले देखाएको माया र साथले फेरि बाँच्ने हौसला मिलेको छ । म निको भएर फेरि मञ्चमा उभिएर उद्घोष गर्न आउने मन छ”, ।
उनको यो अभिव्यक्तिले महोत्सवमा उपस्थित धेरैलाई भावुक बनाएको थियो ।
निर्मोहीका परिवारका अनुसार उपचार अझै लामो समयसम्म जारी रहने भएकाले आगामी दिनमा पनि सहयोगको आवश्यकता रहनेछ । यद्यपि समाजबाट प्राप्त साथले कठिन समय पार गर्न मानसिक बल मिलेको उनीहरूको भनाइ छ ।
गीतमार्फत सामाजिक संवेदना र भावनाका कथा सुनाउँदै आएका कमल निर्मोही आज आफैं जीवनको कठिन संघर्षमा छन् । उनको स्वास्थ्यलाभका लागि जुटिरहेको सहयोगले कलाकार मात्र होइन, समाजको मानवीय पक्षलाई पनि उजागर गरेको सरोकारवालाहरू बताउँछन् ।
कलाकारको पीडामा समाज एकजुट हुनु सामाजिक उत्तरदायित्व र सहानुभूतिको उदाहरण भएको उल्लेख गर्दै उद्योग वाणिज्य संघले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि पहल जारी राख्ने जनाएको छ ।


