नेपालगन्ज पुस २४- सुरुवातदेखि नै अनेक शंका, आलोचना र अवरोधका घेराबीच अघि बढेको कोहलपुर महोत्सव अन्ततः सफलताको गौरवपूर्ण गन्तव्यमा पुगेको छ । पुष ९ गतेदेखि कोहलपुरको मुटुमा स्पन्दन बनेर सञ्चालन भएको महोत्सव बिहीबार भव्य र ऐतिहासिक समारोहका साथ समापन भएको छ ।
महोत्सवको समापन समारोहको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले स्थानीय स्तरमा आयोजना हुने सकारात्मक र सृजनात्मक गतिविधिलाई स्थानीय सरकारले संरक्षण र सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सीमित स्रोत, विभिन्न समस्याहरू र निरन्तर आलोचनाका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य संघले देखाएको नेतृत्व, धैर्यता र प्रतिबद्धताको खुलेर प्रशंसा गरे । “कोहलपुरको आर्थिक र सामाजिक जीवनलाई चलायमान बनाउने मेला-महोत्सवको नेतृत्व उद्योग वाणिज्य संघले नै गर्नुपर्छ,” भन्दै उनले आगामी दिनमा पनि स्थानीय सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले आरोह-अवरोह, दबाब र आलोचनाबीच पनि महोत्सवलाई सफल बनाउन साथ दिने सबैप्रति आभार व्यक्त गर्दै,“स्थानीय सरकारले देखाएको विश्वासलाई हामीले कर्म, इमान्दारिता र एकतामार्फत प्रमाणित गरेका छौं”, । उनले यो सफलता एकल प्रयास नभई सम्पूर्ण कोहलपुरवासीको साझा उपलब्धि भएको स्पष्ट पारेका छन् ।
समापन समारोहमा जिल्ला समन्वय समिति बाँकेकी उप–प्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाकी उप–प्रमुख सङ्गीता सुवेदी, विभिन्न राजनीतिक दलका नेताहरू तथा मुख्य प्रायोजक के.एल. दुग्गड ग्रुपका सिइओ प्रदीप छाछडलगायत वक्ताहरूले कोहलपुरमा ऐतिहासिक महोत्सव सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले निजी क्षेत्रको सबैभन्दा सशक्त संस्थाका रूपमा रहेको उद्योग वाणिज्य संघले नै स्थानीय मेला–महोत्सवको स्वामित्व लिनुपर्नेमा जोड दिँदै, मेला–महोत्सवको नाममा हुने अराजकता रोक्न सबै सरोकारवाला एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
समारोहका क्रममा महोत्सव सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सहयोगी संघसंस्था, मुख्य प्रायोजक, प्रायोजक, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, कलाकार, कर्मचारी तथा स्वयंसेवकहरूलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
झण्डै ९० हजार दर्शकले गर अवलोकन
१५ दिनसम्म सञ्चालन भएको महोत्सवमा झण्डै ९० हजार दर्शकले अवलोकन गरेका छन् । टिकट व्यवस्थापन उप–समितिका संयोजक टंक खनालका अनुसार महोत्सव अवधिभर २९ हजार विद्यार्थी र करिब ६१ हजार सर्वसाधारणले प्रत्यक्ष रूपमा सहभागिता जनाएको जानकारी दिए । यो उपस्थिति महोत्सवप्रतिको जनआकर्षण मात्र नभई, आयोजकप्रतिको जनविश्वास र कोहलपुरको सामूहिक चेतनाको स्पष्ट प्रतिबिम्ब पनि हो ।
आलोचना, आशंका र अवरोधलाई परास्त गर्दै कोहलपुर महोत्सवले सम्भावना र सफलताको नयाँ इतिहास कोरेको छ । यो महोत्सवले कोहलपुरलाई उत्सवको शहर मात्र होइन, संघर्षपछि पनि उभिन सक्ने साहसी र एकताबद्ध समुदायका रूपमा स्थापित गरेको छ ।


