बाँके । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको छैटौं बैठक शनिबार नेपालगन्ज–२० राँझास्थित च्याप्टर कार्यालयमा सम्पन्न भएको छ। बैठक नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकले नाट्टा बाँके च्याप्टरको सहकार्य, नेपाल पर्यटन बोर्डको सहयोग तथा डुडुवा गाउँपालिकाको सहजीकरणमा आगामी माघ १ गते राप्ती माघ स्नान कार्यक्रम आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
अध्यक्ष रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत पुस ३० गते रातभरि राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तन आयोजना गरिनेछ। माघ १ गते बिहान श्रद्धालु भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा माघ स्नान गराइने व्यवस्था गरिएको छ। साथै रातभरि आगो बालेर भजन–कीर्तन, बिहान स्नानपछि भक्तजनलाई प्रसाद वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ।
माघ स्नान कार्यक्रममा धार्मिक तथा सांस्कृतिक महत्वलाई थप आकर्षक बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण, स्नानपछि कपडा फेर्नका लागि अस्थायी च्यान्जिङ रुम निर्माण गरिनेछ। यसले श्रद्धालु भक्तजनलाई थप सहजता प्रदान गर्ने आयोजकको विश्वास छ।
नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीले माघी स्नान हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व बोकेको दिन भएको बताउँदै, धार्मिक विश्वासअनुसार माघ स्नान गर्नाले सबै प्रकारका पापबाट मुक्ति मिल्ने जनआस्था रहेको जानकारी दिनुभयो। यही धार्मिक आस्थालाई आधार बनाएर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा माघी स्नान कार्यक्रम आयोजना गर्न लागिएको उहाँको भनाइ छ।
कार्यक्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक संघसंस्था तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्य लिएको जनाएको छ।
शनिबार नाट्टा बाँके च्याप्टरको कार्यालय बाट नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको पर्यटन एवं धार्मिक स्थलका तस्वीर प्रचारप्रसारका लागि अध्यक्ष रेग्मीले पदाधिकारी एवं सदस्यहरुलाई हस्तान्तरण गर्नुभएको छ।



