नेपालगन्ज पुस २७- नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेको आयोजनामा सञ्चालित पाँचौँ जिल्लास्तरीय डोजाङ प्रमुख प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टार तेक्वान्दो डोजाङमा पौष २६ र २७ गते गरी दुई दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा बाँके जिल्लाभर सञ्चालनमा रहेका विभिन्न डोजाङका प्रमुख तथा प्रशिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको कार्यक्रममा तेक्वान्दो खेलको आधुनिक प्रशिक्षण प्रविधि, अद्यावधिक खेल नियम, खेलाडी विकासका रणनीति तथा डोजाङ व्यवस्थापनसम्बन्धी विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन समारोहमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) बोर्ड सदस्य श्रीमान थापा मगरले जिल्लास्तरमै यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन हुनु तेक्वान्दो खेलको दीर्घकालीन विकासका लागि महत्वपूर्ण भएको बताका थिए ।
उक्त कार्यक्रमका अध्यक्षता ग्रहण गर्दै नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेले बाँके जिल्लामा तेक्वान्दो खेललाई व्यवस्थित, अनुशासित र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समापन समारोहमा सहभागी प्रशिक्षक तथा डोजाङ प्रमुखहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नेपाल तेक्वान्दो संघ बाँकेका सचिव जगवीर चौधरीका अनुसार यस किसिमको प्रशिक्षणले डोजाङहरूमा एकरूपता कायम गर्नुका साथै खेलाडीहरूलाई दक्ष, अनुशासित र प्रतिस्पर्धी बनाउने विश्वास लिएको बताए ।
कार्यक्रमले बाँके जिल्लामा तेक्वान्दो खेलको स्तर उकास्न सकारात्मक योगदान पुर्याउने सहभागीहरूको भनाइ रहेको थियो ।


