नेपालगञ्ज माघ ३- सञ्चारिका समूह बाँके शाखाको आयोजनामा पत्रकार महिलाहरूका लागि पिकनिक कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरस्थित सिद्धिविनायक पार्कमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सञ्चारिका समूह बाँके शाखाकी अध्यक्ष पवित्रा परियारले पत्रकार महिलाबीच आपसी आत्मीयता र सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले भनिन्, “पत्रकार महिलाहरूको व्यस्त दिनचर्याबीच यस्तो कार्यक्रमले ऊर्जा र उत्साह थप्ने काम गर्छ” ।
नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष महारानी राज्यलक्ष्मी शाह (करूणा) ले महिला पत्रकारहरूको सशक्तीकरणमा सञ्चारिका समूहको भूमिकाको प्रशंसा गर्दै “महिला पत्रकारहरूलाई एकजुट गर्दै अघि बढाउने अभियान सराहनीय रहेको उनको भनाई रहेको थियो ।
त्यसैगरी सञ्चारिका समूहकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले पत्रकार महिलाहरूबीच सहकार्य, एकता र अनुभव आदान–प्रदानका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताइन् ।यस्ता खाले “अनौपचारिक कार्यक्रमले महिलाहरूलाई थप नजिक ल्याउने अवसर दिने उनको भनाई रहेको थियो ।
कार्यक्रममा बाँके जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकार महिलाहरूको सहभागिता रहेको थियो । मनोरञ्जनात्मक गतिविधि र आपसी छलफलका साथ कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।


