Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियचौथो बैजनाथ उप–प्रमुख कपको सम्पूर्ण तयारी पूरा

चौथो बैजनाथ उप–प्रमुख कपको सम्पूर्ण तयारी पूरा

कुशल दलामी-बाँके । बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताको तयारी पूरा भएको विषयमा शनिबार बैजनाथ गाउँपालिका–६ लालपुरस्थित गाउँपालिका स्तरीय रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा खेलकुद विकास समिति सदस्य कुल बहादुर भण्डारीले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिनुभयो। सम्मेलनको अध्यक्षता गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको उपस्थिति रहेको थियो। साथै फिल्ड मार्सल संयोजक राजेश यादवलगायत खेलकुद विकास समिति पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष शाहीले विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न, प्रतिभा पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो। प्रतियोगिता माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिनेछ।
प्रतियोगितामा आधारभूत तहतर्फ छात्रा १४९ र छात्र १४८ गरी कुल २९७ जना विद्यार्थी खेलाडी सहभागी हुनेछन्। आधारभूत तहमा १०० मिटर दौड, ४×१०० मिटर रिले दौड तथा लङ जम्प प्रतियोगिता समावेश गरिएको छ। प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगत रु. २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी माध्यमिक तहतर्फ एथलेटिक्स अन्तर्गत १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० तथा ४×४०० रिले दौड, लङ जम्प, सटपुट, ज्याब्लिन र ट्रिपल जम्प खेल सञ्चालन गरिनेछ।
मार्सल आर्ट्सतर्फ तेक्वान्दो र करातेका विभिन्न तौल समूहमा छात्र तथा छात्रा दुवै वर्गका प्रतिस्पर्धा हुनेछन्। तेक्वान्दोमा छात्रतर्फ ४५ देखि ५९ केजीसम्म र छात्रातर्फ ४२ देखि ५२ केजीसम्म तथा एकल पुम्से, करातेमा छात्रतर्फ ४२ देखि ६२ केजीसम्म र छात्रातर्फ ४० देखि ६० केजीसम्म तथा एकल काँता प्रतियोगिता हुनेछन्।
माध्यमिक विद्यालयतर्फ समग्र प्रथम हुने विद्यालयलाई नगत रु. ४० हजार, द्वितीयलाई रु. २५ हजार र तृतीयलाई रु. १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
भलिबल, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधामा उत्कृष्ट खेलाडीलाई जनही नगत रु. २० हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै आधारभूत र माध्यमिक तह दुवै तहको शिल्ड जित्ने विद्यालयका प्रशिक्षकलाई जनही रु. १० हजारका दरले नगद पुरस्कार प्रदान गरिने जानकारी गाउँपालिका अध्यक्ष शाहीले दिनुभयो।
पत्रकार सम्मेलनको कार्यक्रम खेलकुद प्रतियोगिता सचिवालय संयोजक प्रशान्त तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमसम्बन्धी जानकारी युवा, खेलकुद तथा शिक्षा शाखाका कर्मचारी लाल बहादुर बोहराले दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष निर्मला रोकायले राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, विद्यालय, खेल प्रशिक्षक, खेलाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण बैजनाथबासीलाई प्रतियोगिता सफल बनाउन सहयोगका लागि अपिल गर्नुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments