काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस गरिएका विवरण, तथ्य तथा कागजातहरूको अध्ययनपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मानेर आयोगमा सोही विवरण अद्यावधिक गर्ने निर्णय गरिएको हो।
निर्वाचन आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगन थापाको पक्षमा र एक जनाले विपक्षमा राय दिएपछि बहुमतका आधारमा निर्णय भएको स्रोतले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुनशमशेर राणाले थापा पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त जानकी तुलाधर विपक्षमा मत व्यक्त गरेकी थिइन्।
आयोगको निर्णयपछि शेरबहादुर देउवा पक्षका कांग्रेस नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै काठमाडौंको कान्तिपथ सडकमा प्रदर्शन तथा नाराबाजी गरिरहेका छन्। प्रदर्शनलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, एनपी साउदलगायत सहभागी छन्।
यसअघि सभापति गगन थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आफ्नो आधिकारिकता दाबी गर्दै बिहीबार दिउँसो निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न औपचारिक माग गरेको थियो। सो अवसरमा थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तथ्य, प्रमाण तथा सम्बन्धित कागजातहरू बुझाएका थिए।
त्यस्तै, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले भने सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गर्दै शुक्रबार बिहान आयोग पुगेर पार्टीका निर्णयसहित विभिन्न प्रतिवेदन र दस्तावेज बुझाएको थियो।
निर्वाचन आयोगको यस निर्णयले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ भने आगामी राजनीतिक गतिविधि थप रोचक बन्ने देखिन्छ।


