कुशल दलामी-बाँके । नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत जाजरकोट निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा जाजरकोट–बाँके सम्पर्क समन्वय समिति गठन विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कोहलपुर नगरपालिका–११ स्थित निम कटेजको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रशान्त शर्माले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेता–कार्यकर्ता, जाजरकोटदेखि बाँके र बर्दिया जिल्लामा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बस्नेतले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै २०७० सालमा जाजरकोटको गैरीखालीबाट पैदल यात्रा गर्दै जिल्ला व्यापी निर्वाचन परिचालन सुरु गरेको अनुभव सुनाउनुभयो। उहाँले विगत १० वर्षको अवधिमा जाजरकोटका सबै वडामा सडक सञ्जाल विस्तार भई यातायात सहज बनेको उल्लेख गर्नुभयो।
बस्नेतका अनुसार आज जाजरकोट राष्ट्रिय राजमार्गसँग जोडिएको छ भने नेपालगन्ज–जाजरकोट–डोल्पा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, जाजरकोट–जुम्ला सडक, जाजरकोट–दैलेख सडक लगायतका महत्वपूर्ण सडक आयोजनाहरू निर्माण तथा प्रगतिका चरणमा रहेका छन्। यी सडकहरूले जाजरकोटलाई राष्ट्रिय विकासको मूलधारसँग जोड्दै आर्थिक गतिविधि तीव्र बनाएको उहाँको भनाइ थियो।
साथै गाउँ–गाउँमा ४जी इन्टरनेट र फाइबर नेटको पहुँच पुगेको उल्लेख गर्दै अब विकास केवल भौतिक पूर्वाधारमा सीमित नराखी रोजगारी, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रतर्फ केन्द्रित गरिने बताउनुभयो।
प्रमुख अतिथि बस्नेतले अबको मुख्य लक्ष्य “समृद्ध जाजरकोट” निर्माण रहेको उल्लेख गर्दै हाइड्रोपावर विकास, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको समग्र विकास मार्फत आर्थिक उन्नति र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताउनुभयो। जाजरकोट पर्यटनको दृष्टिले भर्जिन ल्यान्ड भएकाले यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरी देश–विदेशका पर्यटक भित्र्याउने योजनासमेत रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश्वरजंग गहतराज, केन्द्रीय सदस्य रामदीप आचार्य, अब्दुल हुसेन खान, केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार कृष्ण बी.सी., बाँके क्षेत्र नं. १ का उम्मेदवार नरेन्द्र पाण्डे ‘जेम्स’, समानुपातिक उम्मेदवार मन्जु कोइराला लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले प्रतिनिधि सभा निर्वाचनमा जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टीको जनआधार बलियो रहेको र हालसम्म अन्य दलभन्दा अगाडि रहेको दाबी गर्दै मतदानको दिनसम्म प्राप्त मतलाई सुरक्षित राख्दै संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
जाजरकोट–बाँके सम्पर्क समन्वय समिति गठन गरी सोमबार बिहान ८:०० बजे समिति औपचारिक घोषणा गरिने कार्यक्रमका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन लक्ष्मण के.सी.ले गर्नुभएको थियो भने कार्यक्रमबारे देवराज बोहराले जानकारी दिनुभएको थियो।



