Thursday, March 5, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा कांग्रेसको आक्रामक प्रवेश

बाँके–३ मा कांग्रेसको आक्रामक प्रवेश

बाँके । नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै बाँके निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा बैजनाथ गाउँपालिका–३ र ४ मा स्थापना गरिएका चुनाव प्रचारप्रसार तथा परिचालन सम्पर्क कार्यालय प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अम्मर सिंह पुनले उद्घाटन गर्नुभएको छ।
उद्घाटन कार्यक्रममा उम्मेदवार पुनले बाँके–३ नेपाली काङ्ग्रेसको राजनीतिक विरासत भएको उल्लेख गर्दै २०७९ सालमा प्राप्त जनमतलाई जोगाउँदै थप सुदृढ बनाउने लक्ष्यका साथ कांग्रेस आक्रामक रूपमा मैदानमा उत्रिएको बताउनुभयो। उहाँले निर्वाचन क्षेत्रका सबै वडास्तरमा सम्पर्क सचिवालय स्थापना गरी पार्टीका क्रियाशील सदस्यहरूलाई गाउँ–टोल टोलमा परिचालन गरिने जानकारी दिनुभयो।
नेपाली काङ्ग्रेसले आफ्नो २०७९ सालको प्रतिनिधि सभा सदस्य पद जोगाउने उद्देश्य का साथ प्रचारप्रसार रणनीतिलाई आक्रामक बनाएको जनाएको छ। यस अन्तर्गत घरदैलो अभियान, मतदाता भेटघाट, टोलसभा तथा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँके–३ बाट तत्कालीन नेपाली काङ्ग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर निर्वाचित भएका थिए। उक्त निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल रहेको थियो। तालमेलको बलमा राठौरले नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतीलाई पराजित गर्दै विजय हासिल गरेका थिए।
यसपटक भने सबै राजनीतिक दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएको अवस्थामा प्रतिस्पर्धा थप कडा बनेको छ। संगठनात्मक रूपमा नेकपा एमाले बलियो देखिए पनि भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि एमालेको लोकप्रियतामा गिरावट आएको राजनीतिक विश्लेषण गरिएको छ।


यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके–३ मा उम्मेदवार खगेन्द्र सुनारलाई अगाडि सार्दै चुनावी मैदानमा प्रवेश गरेको छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी अभियान अघि बढाएको हुँदा बाँके–३ मा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका लागि प्रतिस्पर्धा थप चुनौतीपूर्ण बनेको छ।
यसरी प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा चर्किँदै जाँदा बाँके–३ को चुनावी माहोल निर्णायक मोडमा प्रवेश गरेको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments