नेपालगन्ज माघ २० – बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरीले पुरानो राजनीतिक शैलीभन्दा फरक, इमानदार र जनमुखी राजनीतिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार चौधरीले लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीति जनताको अपेक्षा पूरा गर्न असफल भएको बताए । उनले अब जनताले वैकल्पिक राजनीति खोजिरहेको उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी उपयुक्त विकल्प भएको दाबी समेत गरेका छन् ।
चौधरीले राजनीतिलाई सेवा र उत्तरदायित्वसँग जोडिनुपर्नेमा जोड दिँदै सत्ता र पदमुखी सोचका कारण देश पछाडि परेको टिप्पणी गरे । “राजनीति जनताको समस्या समाधानका लागि हुनुपर्छ, व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बन्नु हुँदैन,”।
पत्रकार सम्मेलनमा उनले बाँके–१ का शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राख्ने बताए । विशेषगरी युवालाई रोजगारीसँग जोड्ने नीति, किसानका समस्या समाधान र सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउने योजना रहेको उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र जवाफदेहिताको एजेन्डालाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले आफू निर्वाचित भए जनताको आवाज संसद्मा पहिलो प्राथमिकताका साथ प्रस्तुत गर्ने बताए ।
उनले बाँके क्षेत्र नम्बर १ का मतदातालाई पुरानो सोच र दबाबको राजनीतिबाट मुक्त भई वैकल्पिक राजनीति र सकारात्मक परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् ।


