बाँके: नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. नाराभन्दा कर्मलाई राजनीति बनाउने नेता रूपमा चुनावी मैदानमा उत्रिएका छन्। कोभिड–१९ को चरम संकटका बेला देशभर बन्दाबन्दी थियो, राज्य संयन्त्र कमजोर देखिएको थियो र नागरिकहरू भय र अनिश्चिततामा बाँचिरहेका थिए। त्यही कठिन समयमा जि.एम. ले आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना संक्रमणबाट मृत्यु भएका सयौँ व्यक्तिहरूको लास व्यवस्थापन तथा अन्त्येष्टि कार्यमा प्रत्यक्ष रूपमा खटिँदै मानवीय साहसको उदाहरण प्रस्तुत गरेका थिए।
सबै घरभित्र सीमित भएको अवस्थामा पनि उनी पीडित परिवारको आँसु पुछ्न अग्रपंक्तिमा उभिए। महामारीको त्यो कालखण्डले दीपक जि.एम. लाई केवल राजनीतिक कार्यकर्ता होइन, संकटमा जनताको भरोसा बन्न सक्ने नेता रूपमा स्थापित गराएको स्थानीयवासीहरूको भनाइ छ।
बैजनाथ गाउँपालिका–५ जि गाउँ निवासी दीपक जि.एम. मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्किएका सरल, इमान्दार र जनताप्रति उत्तरदायी युवा नेता हुन्। उनी कहिल्यै विवादमा नपरेको, भड्किलो भाषण र खोक्रा आश्वासनभन्दा पनि निरन्तर जनसेवा र व्यवहारिक काममा विश्वास गर्ने व्यक्तित्वका रूपमा चिनिन्छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनमा बाँके–३ बाट उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाली कांग्रेसका अम्मर सिंह पुन र नेकपा एमालेका सुमन मल्ल चुनावी प्रतिस्पर्धामा छन्। तर जनताको दुःख–सुखमा प्रत्यक्ष सहभागी हुँदै आएको जीवन यात्राले जि.एम. लाई अन्य उम्मेदवारभन्दा फरक र प्रभावशाली बनाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
लामो राजनीतिक यात्रापछि पहिलो पटक जनताबाट प्रत्यक्ष अनुमोदन पाउने यो अवसर जि.एम. का लागि अवसरसँगै ठूलो चुनौती पनि हो। नयाँ युगको मागअनुसार विकास, सुशासन, रोजगारी र सामाजिक न्याय उनका प्रमुख एजेन्डा रहेका छन्। जेन–जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनविरुद्ध खुलेर सडक र सार्वजनिक मञ्चबाट आवाज उठाएका जि.एम. परिवर्तन र उत्तरदायी राजनीतिका पक्षधर साहसी नेता मानिन्छन्।जनसेवाबाट राजनीतिक यात्रा सुरु गरेका दीपक जि.एम. ले यसपटक बाँके–३ मा जनमत आफ्नो पक्षमा पार्न सक्ने कि नसक्ने भन्ने विषयले अहिले स्थानीय राजनीतिक माहोल तातेको छ। जनताबीच बढ्दो चासो र समर्थनले यो निर्वाचनलाई झन् रोचक र निर्णायक बनाउँदै लगेको छ।


