Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियदिपज्योती विद्या निकेतनको १८औँ वार्षिकोत्सव सम्पन्न

दिपज्योती विद्या निकेतनको १८औँ वार्षिकोत्सव सम्पन्न

कुशल दलामी
बाँके: दिपज्योती विद्या निकेतन, बैजनाथ गाउँपालिका–२ डिगियाले आफ्नो १८औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विद्यालयका संस्थापक लक्ष्मण बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा बैजनाथ–२ का वडा अध्यक्ष राजु रुचाल प्रमुख अतिथि रहनुभएको थियो भने प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य विशिष्ट अतिथि रहनुभयो। त्यसैगरी बैजनाथ गाउँपालिका सामाजिक विकास समिति संयोजक भूमिसरा राणा, एन–प्याब्सन लुम्बिनी प्रदेश सह–सचिव गोविन्द चौधरी, प्याब्सन बाँके सल्लाहकार शिवप्रसाद डाँगी, सदस्य ठगिराम दमाई, प्याब्सन कोहलपुर अध्यक्ष रमेश के.सी., ग्रामीण विद्युत सहकारीका अध्यक्ष शेरबहादुर बस्नेत, शिक्षक महासंघ बाँके अध्यक्ष महेश शर्मा, बैजनाथ गाउँपालिका शिक्षा शाखाका कर्मचारी लालबहादुर बोहरा लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन रामलाल देवकोटाले गर्नुभएको थियो।
प्रमुख अतिथि राजु रुचालले निजी शैक्षिक संस्थाले शैक्षिक गुणस्तर वृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्दै दिपज्योती विद्या निकेतनले स्थानीय स्तरमा शिक्षा मात्र नभई रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले बैजनाथ–२ वडालाई चिनाउने कार्य गरेकोमा गर्व महसुस भएको जनाउँदै शैक्षिक विकासका लागि स्थानीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि विकास बज्राचार्यले शिक्षा केवल सर्टिफिकेटमा सीमित नभई नैतिक, सामाजिक र व्यवहारिक मूल्यसँग जोडिनुपर्नेमा जोड दिनुभयो। ग्रामीण तथा शहरी विद्यालयमा दिइने शिक्षामा खासै भिन्नता नरहेको उल्लेख गर्दै उहाँले दिपज्योती विद्या निकेतनले एसईई २०८१ मा सतप्रतिशत नतिजा हासिल गरेकोमा बधाई ज्ञापन गर्नुभयो। साथै, आगामी दिनमा कक्षा ११ र १२ सञ्चालन गर्ने दिशामा पहल गर्न सुझाव दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष लक्ष्मण बहादुर सिंहले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, संघसंस्था प्रतिनिधि, अभिभावक, सञ्चारकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझै भव्य र गुणस्तरीय कार्यक्रम आयोजना गर्दै विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय निरन्तर प्रतिबद्ध रहने र शैक्षिक नतिजा अझ उत्कृष्ट बनाउँदै लैजाने घोषणा गर्दै कार्यक्रम समापन गर्नुभयो।

कार्यक्रमका मुख्य तस्वीरहरु

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments