बाँके । नेकपा एमाले बैजनाथ गाउँपालिका–८ हस्नापुर टोलबाट खगिसरा सुनारसहित ५५ जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
आइतवार बैजनाथ–८ का विभिन्न टोलहरूमा आयोजना हुने कार्यक्रममा अझै करिब ५०० जना नेकपा एमाले र नेपाली कांग्रेसका नेता–कार्यकर्ता पार्टी परित्याग गरी स्वस्फूर्त रूपमा रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको रास्वपा बाँके जिल्ला सदस्य रामबहादुर बिष्टले जानकारी दिनुभयो।

बिष्टका अनुसार हालसम्म मात्रै नेकपा एमालेबाट करिब ३ हजार जनालाई रास्वपामा प्रवेश गराउने सूची तयार भइसकेको छ। उहाँले बाँके निर्वाचन क्षेत्र नम्बर ३ पूरै “घण्टीमय” भइसकेको दाबी गर्दै अब यो प्रवेशको पहिरोलाई एमालेले चाहेर पनि रोक्न नसक्ने बताउनुभयो। यदि रोक्ने प्रयास गरिए झनै ठूलो संख्यामा रास्वपामा प्रवेशको लहर चल्ने उहाँको भनाइ छ।
यसैबीच, खगेन्द्र सुनारले आफ्ना आमा, दिदीबहिनी तथा चिसापानीदेखि सैनिकसम्म र दैलेखबाट बसाइँ सरेर बाँके आएका आफन्तहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्।
नेकपा एमाले, नेपाली कांग्रेस तथा केही नेकपाका माथिल्लो तहका नेता–कार्यकर्ता समेत रास्वपामा प्रवेशको तयारीमा रहेको जानकारी बिष्टले दिनुभयो।


