बाँके । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक जि.एम. ले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै बैजनाथ गाउँपालिका–१ चिसापानीमा प्रचारप्रसार सम्पर्क सचिवालय स्थापना गर्नुभएको छ।
सचिवालयको उद्घाटन प्रत्यक्षतर्फका उम्मेदवार दिपक जि.एम. र समानुपातिक उम्मेदवार मञ्जु कोइराला ले संयुक्त रूपमा गर्नुभएको हो। उद्घाटन समारोहमा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य नारायणी ओली, प्रदेश कमिटी सदस्य मनकुमारी चन्द, नेता कुबेर रिजाल, नेकपा बैजनाथ संयोजक जयबहादुर बी.के., सह–संयोजक सुन्दरमान विश्वकर्मा लगायतको उपस्थिति रहेको नेता मिरा कार्की ले जानकारी दिनुभयो।
सचिवालय उद्घाटनपछि सोमबार नै उम्मेदवार दिपक जि.एम. नेतृत्वमा बैजनाथ–१ का मिनी गाभर, गाभर तथा चिसापानी बजार क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ। घरदैलोका क्रममा दिपक जि.एम.ले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
स्थानीय जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो सहभागिताले बाँके–३ मा नेपाली कम्युनिस्ट पार्टीको चुनावी अभियान मजबुत बन्दै गएको संकेत देखिएको पार्टी नेताहरूको भनाइ छ।


