Monday, April 20, 2026
spot_imgspot_img
Homeसमाजनाटा बाँकेद्वारा ४ दिने निःशुल्क हस्पिटालिटी तालिम सुरु

नाटा बाँकेद्वारा ४ दिने निःशुल्क हस्पिटालिटी तालिम सुरु

बाँके, माघ २७ – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) बाँके च्याप्टरको आयोजनामा पर्यटन व्यवसायसँग आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ४ दिने निःशुल्क फ्रन्टलाइन हस्पिटालिटी तालिम सुरु गरिएको छ।
नेपाल पर्यटन बोर्ड अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (STP) को आर्थिक सहयोग तथा नाटा केन्द्रीय कार्यालयको समन्वयमा आयोजना गरिएको तालिम माघ २७ गते नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले उद्घाटन गर्नुभएको हो। तालिम नेपालगञ्जस्थित होटल कल्पतरुमा सञ्चालन भइरहेको छ।
माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने तालिम दैनिक बिहान १०:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा नाटा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले तालिमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै पर्यटन व्यवसायमा गुणस्तरीय सेवा र दक्ष जनशक्तिको आवश्यकता रहेको बताउनुभयो। उहाँले यस्ता तालिमहरूले स्थानीय पर्यटन व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरी तथा प्रशिक्षक सुमन पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिममा होटल, ट्राभल एजेन्सी, टुर अपरेटर, होमस्टे तथा अन्य पर्यटनसम्बन्धी संस्थामा कार्यरत कर्मचारी तथा व्यवसायीहरूको सहभागिता रहेको छ। तालिममा अनुभवी प्रशिक्षकहरूमार्फत व्यवहारिक तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिनेछ।
तालिममार्फत सेवा गुणस्तर अभिवृद्धि, ग्राहक सेवा व्यवस्थापन, व्यावसायिक आचरण, अतिथि सत्कार तथा अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सीप विकास गरिने नाटा बाँकेले जनाएको छ।
उक्त कार्यक्रम नाटा बाँके च्याप्टरका महासचिव भागिराम ओलीले सञ्चालन गर्नुभएको र कार्यक्रमसम्बन्धी जानकारी नाटा बाँकेका कार्यकारी सदस्य कुशल दलामीले दिनुभएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments