Friday, March 6, 2026
spot_imgspot_img
Homeसमाजबाँके १ थारु अगुवाहरुको सन्देशः हाम्रो साथ काँग्रेसलाई

बाँके १ थारु अगुवाहरुको सन्देशः हाम्रो साथ काँग्रेसलाई

बाँके — थारु आदिवासी जनजातिहरुको अधिकार स्थापना र संरक्षणमा नेपाली काँग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको थारु अगुवाहरुले बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल थारु संघ बाँकेले बुधबार कोहलपुरमा आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा थारु समुदायले आफ्नो राजनीतिक धार स्पष्ट पार्दै काँग्रेसप्रति समर्थन जनाएका हुन्।
कार्यक्रममा बोल्दै नेपाल थारु संघका केन्द्रीय सचिव फुलाराम थारुले थारु समुदायको अधिकार, पहिचान र सम्मान संविधानमा सुनिश्चित गराउने काम काँग्रेस नेतृत्वकै सरकारले गरेको दाबी गरे। उनले संविधान निर्माणमा काँग्रेसको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै यसको संरक्षण र कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको बताए। वर्तमान आर्थिक संकट, बेरोजगारी, सामाजिक असन्तुलन र राजनीतिक अस्थिरताबाट मुलुकलाई निकास दिन काँग्रेस बाहेक अन्य दल सक्षम नरहेको उनको भनाइ थियो।
काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी थारुले आदिवासी समुदायका अधिकार संविधानमा सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन गर्न काँग्रेस नेतृत्व अपरिहार्य रहेको बताइन्। उनले थारु समुदायको आवाज संसदसम्म पुर्‍याउन काँग्रेस उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिइन्।
थारु अगुवा लाहुराम थारुले सुकुम्बासी, मुक्तकमैया र भूमिहीन थारु समुदायका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने जिम्मेवारी काँग्रेसकै भएको बताए। अर्का अगुवा लक्ष्मण थारुले थारु समुदाय ऐतिहासिक रुपमा काँग्रेससँग निकट रहेको स्मरण गराउँदै अहिले पनि काँग्रेसकै पक्षमा रहेको बताए।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद गौडेलले आदिवासी थारु समुदायका हकअधिकार कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए। २६ वर्षपछि क्षेत्र नं. १ मा काँग्रेसको विरासत फर्काउने अवसर आएको उल्लेख गर्दै उनले ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरे। आफू ‘भुइँमान्छे’ भएको दाबी गर्दै गौडेलले चुनाव जितेपछि पनि गाउँमै बसेर जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता जनाए।
नेपाल थारु संघ बाँकेका अध्यक्ष बजारु थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी अधिकांश थारु अगुवाहरुले गौडेललाई सादगी, इमान्दार र जनप्रिय नेता भएको भन्दै जिताउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, महासमिति सदस्य पूर्णप्रसाद आचार्य, जिल्ला सहसचिव बिनोद थारु, केन्द्रीय सदस्य जागेश्वर चौधरीलगायतले पनि मन्तव्य राखेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments