बाँके, बैजनाथ ।‘घर बगैंचा विकास आत्मनिर्भर प्रयास’ भन्ने मूल नारासहित देउराली कृषि सहकारी संस्था लि.को सभाहलमा शुक्रबारदेखि किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत घर बगैंचा तालीम दुईदिने रूपमा सुरु भएको छ।
देउराली कृषि सहकारी संस्था लि. को सभाहलमा आयोजित तालीममा स्थानीय किसानहरूको सक्रिय सहभागिता रहेको छ। तालीमको उद्घाटन कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले गर्नुभएको हो।
तालीममा घर बगैंचाको परिचय, यसको महत्व तथा आवश्यक जानकारी, पारिवारिक पोषण विश्लेषण र बाली पात्रो, नर्सरी व्यवस्थापन, एकीकृत शत्रुजीव व्यवस्थापन, माटो तथा सिंचाइ व्यवस्थापन, पशुपालन व्यवस्थापन र आय–आर्जन क्रियाकलापको व्यवस्थापनलगायतका विषयहरू समेटिएका छन्।
कार्यक्रममार्फत घरमै उत्पादन हुने तरकारी तथा कृषि उपजको प्रभावकारी व्यवस्थापन गर्दै पारिवारिक पोषण सुधार र आत्मनिर्भरता बढाउने उद्देश्य लिइएको कृषि शाखाले जनाएको छ। तालीमबारे कृषि शाखाका प्राविधिक सचिन मेघनाथले जानकारी दिनुभएको छ।
स्थानीय स्तरमा कृषि उत्पादन बढाउन र किसानलाई व्यावहारिक सीप प्रदान गर्न यो तालीम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।


