बाँके। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (NATTA) अन्तर्गतको नाट्टा बाँके च्याप्टर को आयोजनामा बाँके जिल्लाका टुर एन्ड ट्राभल्स तथा पर्यटन व्यवसायीहरूको सहभागितामा दिवाभोज एवं फेलोसिप कार्यक्रम सम्पन्न भएको छ।
कोहलपुर–१२ स्थित खरकवार रानीबन पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रम नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, प्रेस सल्लाहकार झलक गैरेलगायत च्याप्टरका पदाधिकारी तथा उनीहरूको परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष सिग्देलले नाट्टा बाँके च्याप्टरले पहिलोपटक परिवारसहित जमघट तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले व्यवसायीबीच आपसी सम्बन्ध मजबुत बनाउने, सहकार्यको वातावरण सिर्जना गर्ने तथा संस्थागत एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, प्रेस सल्लाहकार गैरेले स्थानीय पर्यटकीय स्थल छनोट गरी कार्यक्रम आयोजना गर्नु सकारात्मक कदम भएको बताउँदै यसले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनमा टेवा पुगेको उल्लेख गर्नुभयो। आगामी दिनमा अझ प्रभावकारी र सृजनात्मक कार्यक्रममार्फत पर्यटन व्यवसायीहरूलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।
अध्यक्ष रेग्मीले समापन मन्तव्य व्यक्त गर्दै संस्थागत एकता, व्यवसायिक सहकार्य र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर आगामी दिनमा संस्थाले नै सम्पूर्ण व्यवस्थापन गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको संचालन महासचिव भागिराम ओलीले गर्नुभएको थियो भने सह–कोषाध्यक्ष लवराज प्रधानले कार्यक्रमसम्बन्धी जानकारी दिनुभएको थियो।
नाट्टा बाँके च्याप्टरले व्यवसायीबीच सहकार्य, पारिवारिक सम्बन्ध सुदृढीकरण तथा स्थानीय पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै आयोजना गरेको यो कार्यक्रमलाई सहभागीहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ।


