बाँके ३, जानकी गाउँपालिका : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके क्षेत्र नं. ३ अन्तर्गत जानकी गाउँपालिकाका मतदाताहरूले यसपटक ‘टुरिस्ट उम्मेदवार’ लाई मत नदिने स्पष्ट संकेत दिएका छन्। चुनावका बेला मत माग्न आउने तर जितेपछि अन्यत्र विकास केन्द्रित गर्ने प्रवृत्तिविरुद्ध स्थानीय मतदाता खुलेर बोल्न थालेका छन्।
स्थानीयहरूले बाँके ३ मै जन्मिए–हुर्किएका, लामो समयदेखि सोही क्षेत्रमा राजनीति र समाजसेवामा सक्रिय युवा नेता दीपक जि.एम. लाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसपटक विवेकपूर्ण मतदान गर्दै “भोट बैंक” होइन भन्ने सन्देश दिने समय आएको छ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. जानकी गाउँपालिका–३ इन्द्रपुरमा घरदैलो कार्यक्रममा पुग्दा स्थानीयले आत्मीय स्वागत गरेका थिए। टोल–टोलमा पुगेर जनभेटघाट गरिरहेका जि.एम.लाई स्थानीय युवाहरूले “आफ्नै क्षेत्रको अनुहार” का रूपमा समर्थन गर्ने बताएका छन्।
लामो समयदेखि समाजसेवामा सक्रिय र निष्कलङ्क छवि बनाएका कारण उनको पक्षमा बाँके ३ मा जनलहर सिर्जना भएको दाबी समर्थकहरूको छ। स्थानीय विकासका लागि स्पष्ट भिजन प्रस्तुत गरेका जि.एम.लाई मतदाताले आशाको केन्द्रका रूपमा हेरेका छन्।
यता अन्य दलले बाहिरी क्षेत्रबाट उम्मेदवार ल्याएको भन्दै आन्तरिक असन्तुष्टि समेत देखिएको छ। मतदाताहरूले यसपटक क्षेत्रमै सक्रिय र जनताको सुखदुःखमा साथ दिने नेतृत्व रोज्ने बताएका छन्।
घरदैलोका क्रममा जि.एम.ले मतदातामाझ आफ्ना प्रतिबद्धता दोहोर्याउँदै विजयी भएमा ती कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्। उनले देश र जनताको पक्षमा उभिने शक्तिलाई समर्थन गर्न अपिल गर्दै नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह “तारा” मा मतदान गर्न आग्रह गरेका छन्।
उम्मेदवार जि.एम.ले बिहीबार जानकी गाउँपालिका वडा नं. २ र ३ मा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा बाँके ३ मा चुनावी माहोल थप तातिएको देखिन्छ।


