Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियपश्चिम नेपालमै क्यान्सर उपचारको भरपर्दो सुविधा दिँदैछौँ,सुशील कोईराला प्रखर क्यान्सर:अध्यक्ष मल्ल

पश्चिम नेपालमै क्यान्सर उपचारको भरपर्दो सुविधा दिँदैछौँ,सुशील कोईराला प्रखर क्यान्सर:अध्यक्ष मल्ल

कुशल दलामी (खजुरा)जेठ २८
पश्चिम नेपालका क्यान्सर पीडितलाई उपचारका लागि राजधानी काठमाडौँ वा भरतपुरको क्यान्सर अस्पतालसम्म जानुपर्ने बाध्यता हटेको छ। बाँकेको खजुरा गाउँपालिका–७ मा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तारसँगै क्यान्सरका विभिन्न खालका उपचारहरू स्थानीयस्तरमै उपलब्ध गराउन थालेको छ।

अस्पताल बिकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार, सेवा विस्तारपछि अस्पतालमा क्यान्सरका बिरामीको चाप तीव्र रूपमा बढेको छ। “अहिले अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत क्यान्सर पीडित र बाँकी ५० प्रतिशत अन्य रोगका बिरामी आउने गरेको अध्यक्ष मल्लले बताउनुभयो।

अस्पतालले हाल गम्भीर प्रकृतिका बिरामीबाहेक अधिकांश क्यान्सरका बिरामीको शल्यक्रिया र उपचार सेवा दिइरहेको छ। यसबाट खासगरी लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेश तथा पश्चिम नेपालका नागरिकलाई घर नजिकैबाट सुलभ र गुणस्तरीय सेवा उपलब्ध भएको छ।

अध्यक्ष मल्लले आफूले नेतृत्व सम्हालेपछि अस्पतालमा अक्सिजन प्लान्ट, रक्त सञ्चार केन्द्र, १५ शैय्याको डेकेयर, प्रयोगशाला, फार्मेसी भवन निर्माण, शैय्या संख्या ५५ बाट ९५ पुर्‍याउने, कर्मचारी बस र एम्बुलेन्सको व्यवस्था जस्ता कार्य सम्पन्न गरेको जानकारी दिनुभयो।

उहाँले सरकारी बेवास्ताका कारण अस्पतालमा हालसम्म स्थायी दरबन्दी कायम हुन नसकेको गुनासो गर्नुभयो। सबै सेवा अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सञ्चालन हुँदै आएको छ। कर्मचारीका लागि आवासको व्यवस्था पनि अभावमै छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलका अनुसार स्थापना यता १ लाख ४३ हजार ३३४ जना बिरामी अस्पतालमा उपचारका लागि आएका छन्। तीमध्ये ५२ हजार ७९३ जनामा क्यान्सर पुष्टि भएको छ।

चालु आर्थिक वर्ष (साउन २०८१ देखि हालसम्म) मात्र ३२ हजार ९०३ जना बिरामीले सेवा लिएका छन्, जसमध्ये ११ हजार ३१९ जना नयाँ बिरामी रहेका छन्।

अस्पतालले हाल किमोथेरापी, ब्राकीथेरापी, रेडियोथेरापी, शल्यक्रिया, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे, आइसियू, इमरजेन्सी सेवा सञ्चालन गरिरहेको छ। विशेषगरी ब्राकीथेरापी मेसिन जडानपछि शल्यक्रिया सेवा समेत प्रभावकारी बनेको छ।

यस सेवाको प्रभावले अब चितवन र काठमाडौँबाट समेत बिरामी खजुरा आउन थालेका छन्, जसले अस्पतालको सेवा स्तर र जनविश्वास वृद्धि भएको देखिन्छ।

रेडियसन अनकोलोजिस्ट डा. मुकेश यादवका अनुसार, आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरूको सेवाबाट पश्चिम नेपालका जनताले समय, खर्च र दु:ख कम भोग्नुपरेको छ। यसले क्यान्सरजस्तो गम्भीर रोगको उपचारलाई सुलभ, छिटो र पहुँचयोग्य बनाएको छ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका क्यान्सर पीडितहरूका लागि उपयुक्त र भरपर्दो विकल्प बन्दै गएको छ। यद्यपि, अस्पतालले अझ प्रभावकारी सेवा दिन स्थायी जनशक्ति र पूर्वाधार विकासमा सरकारी सहयोग अपरिहार्य रहेको स्पष्ट देखिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments