बैजनाथ, २९ जेठ – ‘लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरौं’ भन्ने नारासहित बैजनाथ गाउँपालिकामा डेङ्गु तथा किटजन्य रोग नियन्त्रणका लागि जनचेतना जुलुस कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी विद्यार्थी सुरक्षाकर्मी र आम नागरिकलाई प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सबै आ आफ्नो घर वरपर पानी जम्न नदिने फ़ोहोर नस्ट गर्ने सरसफाइ गरेर कुनैपनी स्वास्थ्य सम्बन्धि समस्या परेमा नजिकको स्वास्थ्य संस्थाहरुमा सम्पर्क गर्न अनुरोध गर्दै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय भएकोले सचेतता कार्यक्रम गरिएको बताउनुभयो ।
सहभागी विद्यार्थीहरूले गाउँका विभिन्न स्थानमा घरदैलो कार्यक्रम पनि सञ्चालन गर्दै स्थानीय बासिन्दालाई डेङ्गु रोगबारे जानकारी दिएका थिए। लामखुट्टेको वृद्धि रोक्न सरसफाइको महत्त्व, पानी जम्न नदिनु, र लार्भा नष्ट गर्ने उपायहरूबारे सचेतना फैलाइएको थियो।
कार्यक्रम बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा चिसापानी स्वास्थ्य चौकी र ईलाका प्रहरी कार्यालय चिसापानीको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा सहयोग गर्ने सबै निकायलाई कार्यपालिका सदस्य रुपा थापाले धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्यप्रति विद्यार्थी र समुदायको सक्रियता प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो।