चितवन, असोज ४ – चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा खसेको भीषण पहिरोका कारण मुग्लिन–नारायणगढ सडक विगत २० घण्टाभन्दा बढी समयदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडक बन्द हुँदा हजारौं यात्रु तथा सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।
हिजो साँझ साढे ६ बजे सुरु भएको अवरोध शनिबार दिउँसोसम्म पनि हट्न सकेको छैन। सडक डिभिजन कार्यालय भरतपुर, चितवन का अनुसार पहिरोका कारण सडकमा करिब १६० मिटर लामो, १० मिटर चौडा र १६ मिटर अग्लो भागमा माटो, ढुंगा र गेग्रान थुप्रिएको छ।
ढुङ्गा र माटो झर्ने क्रम अझै नरोकिएकाले सडक सफा गर्ने कार्यमा कठिनाइ भइरहेको छ। यद्यपि, दुबै तर्फबाट मेसिनको प्रयोग गरी निरन्तर पहिरो पन्छाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
यात्रुहरू अलपत्र, वैकल्पिक मार्गको सुझाव
रातभर सडक बन्द रहँदा यात्रुहरूले खानपिन, शौचालय तथा स्वास्थ्य समस्याको सामना गर्नु परेको छ। लामो दूरीका बस, ट्रक, एम्बुलेन्स तथा निजी गाडीहरू समेत रोकिएका छन् । सडकको दुबै किनारमा सयौं गाडीहरू लामबद्ध छन् ।
सडक डिभिजनका इञ्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यदि मौसमले साथ दियो र थप पहिरो आएन भने शनिबार बेलुका भित्र सडक खुलाउने प्रयास गरिएको छ ।
सडक डिभिजन कार्यालयले आवश्यक पर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
-
पूर्वबाट आउने साना गाडीहरूका लागि हेटौँडा–कुलेखानी मार्ग
-
पश्चिमबाट आउने गाडीहरूका लागि कालिगण्डकी करिडोर प्रयोग गर्न सकिनेछ।
वर्षा अझै जारी, थप पहिरोको जोखिम
मौसम विभागका अनुसार चितवन क्षेत्रमा अझै वर्षा जारी रहेकाले पहिरोको जोखिम कायम छ। विशेष गरी तुइन खोला आसपासको ढिस्को अझै कमजोर रहेको र सानोतिनो वर्षाले पनि थप पहिरो ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ।
निर्माणाधीन सुरुङ मार्गको आवश्यकता झनै देखियो
यो घटनाले मुग्लिन–नारायणगढ सडकको अत्यधिक संवेदनशीलता फेरि एकपटक उजागर गरेको छ । बर्षेनी पहिरोका कारण बन्द हुने यो सडकलाई वैकल्पिक रुपमा सुरुङ मार्ग (टनेल) वा उन्नत संरक्षण योजना ल्याउनु पर्ने आवाज फेरि चर्किएको छ ।


