नेपालगन्ज मङ्सिर १२ – बाँके प्रहरीले नेपालगन्ज बसपार्क क्षेत्रबाट अवैध हातहतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पछिल्लो केही दिनदेखि शंकास्पद स्थानमा सुरक्षा व्यवस्थालाई कडा पार्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नियमित गस्तीका क्रममा पेस्तोल, म्याग्जिन र दुई राउन्ड गोली बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बरामद गरिएको पेस्तोल कसले ल्याएको वा कसले प्रयोग गरेको हो भन्ने केही प्रष्ट नखुले पनि घटनास्थल नजिकैबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। हालैका दिनमा नेपाल–भारत नाका तथा शंकास्पद स्थानहरूमा निगरानी कडाइ गरिएको भएकाले भारतबाट अवैध सामान ल्याउने तथा फरार अभियुक्तहरू निरन्तर पक्राउ परिरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार अवैध हातहतियार, लागुऔषध नियन्त्रण तथा अवैध आयातविरुद्ध विशेष अभियान सञ्चालन भइरहेको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको प्रमुख जिसीले जानकारी दिनुभयो।


