Monday, December 8, 2025
spot_imgspot_img
Homeस्थानीयजिल्लाभर असुरक्षित भवनमै बसेर सेवा दिँदै प्रहरी, चौकी निर्माणका पहल अझै अधुरै

जिल्लाभर असुरक्षित भवनमै बसेर सेवा दिँदै प्रहरी, चौकी निर्माणका पहल अझै अधुरै

गुल्मी मङ्सिर १२ – जिल्लाका विभिन्न प्रहरी चौकीहरू आजसम्म पनि असुरक्षित र जीर्ण भवनमा बस्दै सेवा दिन बाध्य छन् । मालिका गाउँपालिका–४ को अर्खबाङ प्रहरी चौकी टिनको छानामुनि जाडोयाममा अत्यधिक चिसो र गर्मीमा झनै ताप सहँदै काम गर्दै आएको छ । बर्सातमा ब्यारेकभित्र पानी चुहिने र भाँडा थाप्नुपर्ने अवस्था कायम छ। चौकी वरिपरि उचित घेरबार छैन, नागरिकका उजुरी खुलेआम बाहिरै छलफल गर्नुपर्ने बाध्यता छ।

अर्खबाङ स्वास्थ्य चौकीको पुरानो, जीर्ण तीन कोठे भवनमै रहेको यस चौकीमा १२ दरबन्दीमध्ये ६ जना मात्र प्रहरी रहेर चार वडाको शान्तिसुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन्। प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीका अनुसार रातपर्नासाथ बाहिर उभिनसमेत सकिँदैन र पानी परेको दिनमा सबै कोठा ओसिलो बन्ने समस्या यथावत छ। मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले चौकीका लागि जग्गा खोज प्रक्रिया अघि बढाए पनि ठोस समाधान नआएकाले समस्या झन् चर्किएको बताए।

इस्मा गाउँपालिका–१ को हस्तीचौर प्रहरी चौकी पनि २०५७ सालदेखि जीर्ण भाडाको घरमा बस्दै आएको छ। आवास, कार्यालय र ब्यारेक एउटै चार कोठामा व्यवस्थापन गर्न कठिन भएको प्रहरी सहायक निरीक्षक विनय श्रीवास्तवले बताए। खानेपानी अभाव, उचित शौचालय नहुनु र खुलेआम खाडल खनेर दिसापिसाब व्यवस्थापन गर्नुपर्ने अवस्था उनीहरूको दैनिकी हो।

यस्तै, २०५६ सालमा स्थापना भएको कालीगण्डकी गाउँपालिका–७ स्थित भुर्तुङ प्रहरी चौकी पहिरोको जोखिम बढेपछि विद्यालय भवनमा भाडामा सरेको छ। उता पूर्तिघाट र पौदी अमराई प्रहरी चौकी पनि दशकौँदेखि भाडाको कच्ची घरमै चल्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार जिल्लामा आठ प्रहरी कार्यालय मात्र आफ्नै भवनसहित सञ्चालनमा छन् । १२ कार्यालयसँग भवन छ तर अवस्था सुधार गर्नुपर्नेछ, भने १२ ठाउँमा भवन र जग्गा दुवै छैनन्। मुसीकोट नगरपालिकाकै मुकाममा रहेको २०३२ सालमा स्थापना भएको वामी प्रहरी चौकी अझै स्तरवृद्धिको प्रतीक्षामा रहेको उनले बताए।

जिल्लामा कुल ४४७ दरबन्दी भए पनि ३६५ मात्र कार्यरत छन्। निर्णय भएर पनि गौडाकोटमा नयाँ चौकी स्थापना हुन नसकेको प्रहरीले जनाएको छ । गृहजिल्लामै भवन अभावका कारण कतै टिनको छाप्रोमा, कतै भाडाको घरमा बसेर प्रहरी सेवामा खटिन बाध्य भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकरीले जानकारी दिए। उहाँका अनुसार असुविधा भए पनि प्रहरी जनताको शान्तिसुरक्षालाई प्राथमिकता दिँदै आफ्नो कर्तव्यमा अविचलित रहँदै आएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments