एजेन्सी मंसीर २४- विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आगामी पाँच वर्षभित्र भारतमा ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। अमेजनका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट्स) अमित अग्रवालका अनुसार उक्त लगानीमार्फत कम्पनीले भारतीय बजारमा आफ्नो सञ्चालन विस्तार गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) क्षमतालाई थप सुदृढ बनाउने योजना अघि सारेको हो। बीबीसीले अग्रवालको भनाइ उद्धृत गर्दै समाचार सार्वजनिक गरेको छ।
यस वर्ष अमेरिकी प्रविधि कम्पनीहरूले भारतमा ठूलो लगानी गर्ने घोषणा एकपछि अर्को गर्दै गरिरहेका छन्। मंगलबार मात्र माइक्रोसफ्टले सन् २०३० सम्म एआई तथा क्लाउड पूर्वाधारमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो, जुन एशियामै कम्पनीको सबैभन्दा ठूलो लगानी हुनेछ। त्यस्तै, गुगलले पनि एआई डाटा सेन्टर निर्माणका लागि पाँच वर्षभित्र १५ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ।
अमेजनले भारतजस्तो एशियाको तेस्रो ठूलो अर्थतन्त्रमा आफ्नो उपस्थिति मजबुत बनाउन दीर्घकालीन लगानी गरिरहेको जनाएको छ। पछिल्ला १० वर्षमा अमेजनले भारतीय बिक्रेताहरूका उत्पादन निर्यातमा २० अर्ब डलरभन्दा बढी आम्दानी गराउन सहयोग गरेको दाबी गरेको छ। कम्पनीले यो रकम २०३० सम्म ८० अर्ब डलरसम्म पुर्याउने लक्ष्य समेत राखेको छ। साथै, २०३० सम्म भारतमा १० लाखसम्म नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजनासमेत अमेजनले अघि सारेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेजनले २०१० देखि भारतमा ४० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। कम्पनीले २०२३ सम्म भारतमा २६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसलाई अब थप विस्तार गर्दै ३५ अर्ब डलरसम्म पुर्याउने तयारी भइरहेको छ।


