एजेन्सी – अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै रहेको एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएपछि दुई देशबीचको तनाव झन् बढेको छ। यो कदम भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो शासनमाथि अमेरिकी दबाब तीव्र बनाउने लक्ष्यसहित उठाइएको कदम भएको बीबीसीले जनाएको छ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यांकर कब्जा गरिएको पुष्टि गरेका छन्। बीबीसीले सार्वजनिक गरेको भिडियोमा अमेरिकी सैनिकहरू हेलिकप्टरबाट डोरी झार्दै ट्यांकरमा उत्रिएको दृश्य देखिन्छ। उक्त ट्यांकर भेनेजुएला र इरानबीच प्रतिबन्धित तेल कारोबारमा संलग्न रहेको अमेरिकी दाबी छ।
भेनेजुएलाले भने अमेरिकाको यो कदमलाई ‘अन्तर्राष्ट्रिय समुद्री डकैती’ भन्दै कडा आपत्ति जनाएको छ। केही दिनअघि मात्र राष्ट्रपति मदुरोले भेनेजुएलालाई “तेल उपनिवेश” बनाउन नदिने चेतावनी दिएका थिए।
घटना सार्वजनिक भएपछि विश्वबजारमा तेल आपूर्तिको अनिश्चितता बढ्दै गएपछि मूल्य केही बिन्दुले वृद्धि भएको ऊर्जा विश्लेषकहरूको भनाइ छ। अमेरिकी कारबाहीमा दुई हेलिकप्टर, १० कोस्ट गार्ड सदस्य, १० वटा आधुनिक डुंगा तथा विशेष फोर्स सहभागी रहेको बताइएको छ।
भेनेजुएलाको सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई ‘गम्भीर अन्तर्राष्ट्रिय अपराध’ भन्दै निन्दा गरेको छ। यसअघि अमेरिकाले करिब ९ हजार सैनिक क्यारेबियन समुद्री क्षेत्रमा तैनाथ गरिसकेको छ। त्यसमाथि विश्वकै विशाल युद्धपोतहरूमध्ये एक भेनेजुएलाको नजिक परिचालित गरिएकाले सम्भावित सैन्य कारबाहीको जोखिम झन् बढेको बताइिएको छ।


