खजुरा, बाँके – खजुरा गाउँपालिका-७ स्थित सिमलघारी मानखोलामा बबई, भादा, औरही तथा मानखोला नदीहरुको संरक्षण तथा नियन्त्रणका लागि तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। स्थानीय सरकारको विशेष पहलमा तथा नदी व्यवस्थापन आयोजनाको सहकार्यमा ९० मिटर लामो तटबन्ध निर्माण थालिएको हो।
बर्षा याममा नदीले बगाउने कटान र डुबानको समस्यालाई समाधान गर्ने उद्देश्यले उक्त तटबन्ध निर्माण कार्य थालिएको हो। खजुरा गाउँपालिकाले दीर्घकालीन नदी व्यवस्थापन योजना अन्तर्गत जोखिमयुक्त क्षेत्रको पहिचान गरी तटबन्ध निर्माणको लागि पहल गर्दै आएको छ। सिमलघारी क्षेत्रमा बर्सेनि आउने बाढी र कटानका कारण स्थानीय बासिन्दाहरूको घर, खेतीयोग्य जमिन तथा पूर्वाधारमा ठूलो क्षति हुने गरेको थियो।
उक्त तटबन्ध निर्माण कार्य सुरु भएकोमा स्थानीयवासीहरू निकै खुसी व्यक्त गरिरहेका छन्। यसले दीर्घकालीन रुपमा नदी नियन्त्रण, वातावरण संरक्षण र स्थानीय विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
खजुरा गाउँपालिकाका अध्यक्षले भने, “स्थानीय बासिन्दाको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। हामीले बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नदी व्यवस्थापन आयोजना सँग सहकार्य गरेका छौं। यो तटबन्ध निर्माण कार्य पूर्ण भएपछि स्थानीयको जनधनको सुरक्षा हुने छ।”
यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै, खजुरा गाउँपालिका र नदी व्यवस्थापन आयोजनालाई धन्यवाद दिइएको छ।