गुर्भाकोट, पुस ४, दिपेन्द्र पंगाली- धनधान्य पूर्णिमाका अवसरमा गुर्भाकोटको मेहेलकुनामा हरेक बर्ष लाग्ने ऐतिहासिक शुभाघाट मेलाको तयारी पूरा भएको छ। आईतबारबाट सुरु हुने मेलाको तयारी पूरा भएसंगै चहलपहल सुरु भएको छ।
कोरोना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको मेला यसपटक लाग्न लागेको हो। मेलाको भोलि आइतबार एक समारोहकाबीच गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले दीप प्रज्ज्वलन गरि उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक मूल समितिले जनाएको छ । गुर्भाकोट नगरपालिकाको सहयोग, मेहेलकुना बजार व्यवस्थापन समितिको समन्वय र ८ नं. वडा कार्यालय, गुर्भाकोटको आयोजनामा मेला लाग्न लागेको हो। आयोजकका अनुसार मेलाको सम्पुर्ण तयारी सकिएको छ।
दुई बर्षपछि लाग्न थालेको मेला विशेष हुने अपेक्षा गरिएको छ। मेलामा सांस्कृतिक झाँकी तथा कृषि उत्पादन प्रदर्शनी समेत गरिने आयोजक वडा नम्बर ८ अध्यक्ष चित्रबहादुर रेग्मीले जानकारी दिनु भएको छ ।