भालुवाङ १० पुस । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयताको मुख्य विरोधी रहेको बताएका छन् । देश लुट्ने र जनता चुस्ने काम समेत केपी ओलीको पार्टीले गरेको आरोप समेत लगाएका छन् ।
नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीले शनिवार देउखुरीको राप्ती गाउँपालिका—१ पाखापानीको क्रिकेट मैदानमा आयोजना गरेको प्रदेशस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले यथा स्थितिमा कुनै पनि हालतमा एमसीसी स्वीकार्य नहुने बताएका छन् । उनले राष्ट्रियता, स्वाधिनता, एकता, सार्वभौमसत्तालाई खतरा हुने गरी कुनैपनि हालतमा एमसीसी स्वीकार्य नहुने बताए ।
निसर्त बैदेशिक सहयोग स्वीकार हुने तर सैनै रणनिति संग जोडेर राष्ट्रियतालाई नै खतरामा पारेर कुनै किसिमको आर्थिक सहयोग स्वीकार्य नहुने बताए ।
मन्तव्यको शुरुवातमै नेकपा एमाले र केपी ओली प्रति आक्रमक बनेका अध्यक्ष नेपालले नेकपा एमालेमा केपीबाद, व्यक्तिबाद, तानाशाह, निरकुंश र केपी प्रबृद्धिहाबी भएको आरोप लगाए । उनलाई हामीले पटक—पटक सुध्रिन आग्रह गर्दा नमानेकै कारण आफूहरुले पार्टी भित्र बिद्रोह गरेको बताउनु भयो । उनले यो बिद्राह मात्र नभई केवीबाद र केपी प्रबृत्ति अन्त्यका लागि गरिएको बिद्रोह भएको बताए ।
उनले एमाले र केपी ओलीकै कारण देश खतरामा रहेको आरोप लगाए । उनले कम्युुनिष्टमा कामरेड भन्ने मान्यतालाई लत्याएर केपी बा बन्ने प्रबृतिको विकासको र केपी बा भनेपछि मख्ख पर्ने प्रबृतिको विकास भएको प्रति तिखो ब्यङ्गय पनि गरे ।
उनले देशमा राजनैतिक क्रान्ति भैइसकेकोले अब आर्थिक, समाजिक र सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताए । त्यसमध्ये हामीले आर्थिक क्रान्तिको एजेण्डा लिएर अगाडी बढेका छौँ उनले भने । उनले अहिलेको निर्वाचन प्रणाली समेत सुधार्नु पर्ने आवश्यकता रहेको बताए । जब सम्म यो निर्वाचन प्रणाली सुधारिदैन तब सम्म असली जनताका जनप्रतिनिधि सरकार र नेतृत्वमा पुग्न नसक्ने ठोकुवा गरे ।
नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दैै पार्टीका उप—महासचिव प्रकाश ज्वालाले अब हुने तीनै तहको निर्वाचनबाट जनताले एमाले र केपी परास्त गर्ने बताए । उनले हाम्रो पार्टी संघ र ६ वटै प्रदेशमा बलियो उपस्थितीका साथ सरकारमा रहेकोले अब हुने चुनाबमा नेकपा एकिकृत समाजवादी पार्टी शक्तिशाली पार्टीको रुपमा स्थापित हुने समेत बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले देश अहिले दक्षिणपन्थीबाट खतरा रहेको बताए । उनले दक्षिणपन्थीको नेतृत्व केपी ओली र एमाले गरेकै कारण देशको राष्ट्रियता, एकता र सार्वभौमसत्ता दक्षिपन्थी शक्तिहरुबाट खतरा रहेको आरोप लगाए ।
पार्टीका दाङ जिल्ला इन्चार्ज जोगबहादुर रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगर लगायतका बक्ताले मन्तव्य व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रदेशभरिका विभिन्न जिल्लाका विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा नेता, कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टिका र माला लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश कमिटी सचिव राजु गुरुङ्गले गरेका थिए ।
आइतवार सम्म चल्ले कार्यक्रममा शनिवार बेलुका देखि आइतवार बेलुका सम्म प्रदेश भरिका पार्टीका अगुवा, नेता, कार्यकार्ताहरुलाई समसमायिक राजनैतिक लगायतका बिषयमा प्रशिक्षण दिइने बताइएको छ ।