गणेश रावत,
ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ । पन्ध्र वर्षदेखि ओडारमा बस्दै आएका कुलालको राहत पाएको पाँच दिन नहुँदै गए राती ओडारमै मृत्यु भएको हो ।
अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रवार ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्बल राहत उपलब्ध गरेका थियौँ । तर पुस १२ गते राहतको अवस्था कस्तो भन्ने अनुगमन गर्दा पहिलेकै अवस्थामा रित्तो ओडार भेटिएको उहाँको भनाई छ । खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुनसक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए ।
चाडै घर बनाइदिने, नागरिक उपलब्ध गराउने तयारीमै रहे पनि कुलालको सोमबार राती रहस्यमय मृत्यु भएको छ । गएको शुक्रवार मात्रै कुलाल लाई दुई बोरा चामल, सिरक, कम्बल राहत दिइएको थियो । तर उहाँले तत्काल घर बनाइदिन माग गर्नुभएको थियो । १५ वर्षदेखि ओडारमा बास बस्दै आउनुभएका कुलालले चामल कम्बल चोर्न सक्ने आफूमाथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्धारका लागि पनि माग गर्नुभएको थियो । तर जिल्ला प्रशासन, प्रहरी लगायतका सरोकारवाला निकाय उहाँकै राहत उद्धारमा जुटिरहेकै बेला कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताउनुभयो ।
“अहिले कुलालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम हुदैछ । पोस्टमार्टमबाट पनि केही घटनाको विषयमा रिपोर्ट आउने छ ।” उहाँले भन्नुभयो ।
उहाँका अनुसार चेते कुलालको मृत्यु आश्र्चाय जनक छ । सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुन्थेन की भन्ने लागेको उहाँको भनाई छ । “उहाँ मदिरा सेवा पनि गर्ने गर्नुहुन्थ्यो । टाउकोमा चोट पटक लागेको भन्ने छ । मागी खाने मान्छे यस्तो कसले ग¥यो होला । घटनाको सत्य तथ्यका विषयमा प्रहरीकै भर परेका छौँ ।”उहाँले भन्नुभयो । घटनाको दोषीमाथि कारबाही हुनुको विकल्प नरहेको उहाँको भनाई छ । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार ओडारमै बस्दै आएका मृतक चेते कुलालको टाउकोमा चोट पटक लागेको छ । ओडारमै बस्दै आएका मृतक चेते कुलालको मृत्यु घटनामा संलग्न संकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको उपरीक्षक चन्दले बताताए। हाल पक्राउ परेका दुई जना माथि थप अनुसन्धान भइरहेकोले तत्काल नाम ठेगाना नखुलाइएको उनको भनाई छ।